वीरगंज, बैशाख २५ ।
वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले विश्वकै चुनौती बनेको कोरोना भाइरसको महामारीबाट बच्न एक्लो महानगरको प्रयास मात्र सम्भव नहुने बताउनु भएको छ ।
उहाँले स्वास्थ्यको क्षेत्रमा निकै ठूला परिवर्तनहरु गरेको अति विकसित मुलुकहरुले समेत कोरोनाबाट निप्टारा पाउन नसकेको बेलामा नेपाल अझै पनि क्षति न्यूनीकरणमा प्रयासरत रहेको बताउनु भएको छ ।
मेयर सरावगीले वीरगंजमा कोरोना संक्रमणलाई रोक्न महानगरपालिकाले कुनै कसर बाँकी नराखेको बताउनु हुँदै नगरवासीलाई बचाउन सम्भाव्य सबै उपायको अवलम्बन गरेर महानगरपालिका अघि बढिरहेको समेत बताउनु हुन्छ ।
मेयर सरावगीले स्वास्थ्य, सुरक्षा, संक्रमण नियन्त्रण र संक्रमित व्यक्तिको पहिचान एवं क्वारेन्टाइन र आइसोलेशनमा सबैको ध्यान केन्द्रित रहेको बताउनु हुँदै अब वीरगंज महानगरलाई कोरोनामुक्त बनाउनका निम्ती केन्द्र सरकार र प्रदेश सरकारले सम्भाव्य सबै उपायको अवलम्बन गर्न आवश्यक रहेको बताउनु हुन्छ ।
नारायणी अस्पतालमा सबै सेवा सुचारु गरेर गण्डक अस्पताललाई कोभिड अस्पताल बनाउन महानगरपालिकाले चालेको कदम समय सापेक्ष र विस्तारै सर्वस्वीकार्य बन्दै जान थालेको बताउनु हुँदै संक्रमणको संख्या थपिदै जाने खतराको पूर्वानुमान गर्दै सयौं बेडको कोरोना अस्पताल निर्माणमा सबैको ध्यान जान आवश्यक रहेको बताउनु हुन्छ ।
मेयर सरावगीले लकडाउनका कारण समस्या भोगिरहेका गरिब, बिपन्न एवं दैनिक ज्यालादारी गर्नेहरुलाई बिहान बेलुका छाक टार्न राहत वितरणलाई प्रभावकारी बनाउँदै लगिएको र जिम्मेवार एवं पारदर्शी ढङ्गबाट राहत सामग्री खरिद गरि पहिचान एवं वितरण प्रक्रियालाई सर्वदलीय संयन्त्रको आधारमा प्रभावकारी बनाउँदै लगिने समेत बताउनुहुन्छ ।
आजको जनभण्डाफोर दैनिकमा समाचार छ ।