सञ्जिव मिश्रा
वीरगंज, माघ २६
बहुचर्चित ललिता निवास जग्गा प्रकरणमा अख्तियारले उक्त जग्गा धितो राखेर कर्जा दिने बैंकका सिइओहरुलाई समेत अनुसन्धानको दायरामा ल्याउने तयारी गरेपछि बैंकिङ्ग क्षेत्रमा ९ रेक्टर स्केलको भूकम्प जान थालेको छ । उक्त जग्गामा बैंकहरुले कर्जा प्रवाह गर्दा हैसियतवाला कर्मचारीहरुले मोटो रकम कमिशन वापत कुम्ल्याएको आरोप लाग्न थालेपछि अब बैंक कर्मचारीहरु समेत जाकिने सम्भावना बढेर जान थालेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार ललिता निवासको जग्गामा बैंकहरुले २ अर्ब १३ करोड रुपैयाँ ऋण दिएका छन् । राष्ट्र बैंकले ललिता निवासको सरकारी जग्गा धितो राखेर ऋण दिएका बैंकहरुलाई अनुसन्धान भने शुरु समेत गरेपछि यसले लहरो तान्दा पहरो थर्कने भएको हो ।
राष्ट्र बैंकले बैंकहरुलाई यसरी धित्तो राखेका ऋणीलाई अर्को जग्गा धित्तो राख्नको लागि अबिलम्ब निर्देशन दिएर राख्न नसकेमा कारवाही गर्ने चेतावनी दिएको बताइन्छ । ललिता निवासको सरकारी जग्गा धितो राखेर सबैभन्दा बढी इन्दु शर्माले ऋण लिएकी छन् ।
उनले नेपाल इन्भेष्टमेन्ट बैंकबाट ६९ करोड १० लाख रुपैयाँ ऋण लिएको भेटिएको छ । सो ऋण भने चुक्ता भएको छैन । यस्तै पुरुषोत्तम पौडेलले पनि सबैभन्दा बढी रकम ऋण लिएका छन् । उनले ४९ करोड रुपैयाँ नेपाल इन्भेष्टमेन्ट बैंकबाट ऋण लिएका छन् ।
सरकारी जग्गा धित्तोमा राखी सरकारी बैंक सहित निजी क्षेत्रका बैंकहरुले ऋण दिएका छन् । यसरी ऋण दिनेमा तत्कालिन आइएमई फाइनान्सियल इन्स्टिच्युसन, नेपाल बैंक लिमिटेड, यति डेभलपमेन्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, युनिक फाइनान्सियल इन्स्टिच्युसन, ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंक रहेका छन् ।
हिमालयन बैंक, आर्या तारा बचत तथा, एनआईसी एशिया बैंक, एनआईडिसी डेभलपमेन्ट बैंक, काष्ठमाण्डप डेभलपमेन्ट बैंक, नेपाल डेभलपमेन्ट एण्ड इमप्लोयमेन्ट प्रोमोशन बैंक, प्राईम कमर्सियल बैंक, किष्ट बैंक लगायतले ललिता निवासको जग्गा धित्तोमा राखेर कर्जा प्रवाह गरेका छन् ।
आजको जन भण्डाफोर दैनिकमा समाचार छ ।