वीरगंज, बैशाख २६ ।
वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले वडा नम्बर १४ मा वितरण गरिएको चामल नकुहिएको जानकारी दिनुभएको छ । वीरगंजको नगर सभागृहमा आज पत्रकार सम्मेलनको आयोजना गरि मेयर सरावगीले प्रचारमा आए जस्तो चामल नकुहिएको र खान योग्य रहेको जानकारी दिनुभयो ।
महानगरले बनाएको तिन सदस्यीय छानबिन समितिले दिएको प्रतिवेदन अनुसार चिसोले गर्दा तिनबोरा चामल ओसिएकोले चामल अलि भिजेको जस्तो देखिएको जानकारी दिनुभयो । मेयर सरावगीले चामल बारे अनावश्यक भ्रम फैलाउने वडा अध्यक्ष भरत कुर्मीलाई बैठकबाट सचेत गराउने निर्णय भएको जानकारी दिनुभयो ।
यसैबीच राहतमा वितरण गरिएको चामल कुहिएको भनेर राहत वितरणको काममा अवरोध सृजना गरेका वीरगंज महानगरपालिका वडा नं १४ का वडाध्यक्ष भरत राउत कुर्मीले महानगरको बोर्ड बैठकमा पुगेर माफी माग्नु भएको छ ।
वीरगंज महानगरपालिकाका प्रवक्ता सन्तोष तिवारीले शुक्रवार जारी गर्नु भएको प्रेस विज्ञप्ति मार्फत वडाध्यक्ष राउतले माफी माँगेको पत्रकार सम्मेलनमा जानकारी गराउनु भएको हो ।
वीरगंज महानगरपालिकाको बोर्ड बैठक बैशाख २३ गते सम्पन्न भएको थियो । सोही बैठकमा वडाध्यक्ष भरत कुर्मीले राहत वितरणकालागि प्राप्त चामलको गुणस्तर सम्बन्धमा आफुले गलत कुरा गरी सोही बमोजिम गलत सूचना प्रवाह गरेको स्वीकार गर्दै बोर्डबैठकमा माफी माँगेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कुर्मीले माफी माँगेपछि बोर्ड बैठकले कुर्मीलाई कारवाही गर्दै अब उप्रान्त त्यस्तो गल्ती नगर्न सचेत गराउने निर्णय गरेको तिवारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बोर्ड बैठकमै वडा नं १४ को राहत वितरणका सम्बन्धमा छानबिन गर्न बनेको टोलीले बुझाएको प्रतिवेदनमा पनि छलफल भएको थियो । महानगरपालिकाद्वारा गठित छानबिन समितिले वडा नंं.१४ को कार्यालयमा पुगी स्थलगत अध्ययन, सरोकारवाला पक्षको धारणा सहित तयार पारेको प्रतिवेदनले चिसोले गर्दा चामल ओसिएको निष्कर्ष निकाल्दै बाहिर प्रचारमा आए जस्तो चामल कुहिएको नरहेको ठहर सहितको प्रतिवेदन बुझाएको विज्ञप्तिमा उल्लेख छ ।
महानगरपालिकाले सम्पादन गरेको काम कार्वाहीका बारेमा सत्य, तथ्य, वास्तवीक र विश्वसनिय सूचना दिन आमसंचार माध्यम र संचारकर्मीहरु सँग अपिल गरेको छ ।
नागरिकमा भ्रम उत्पन्न गर्ने गरि, राहत वितरणको विषयलाई आमसंचारका केही माध्यमहरुबाट प्रकाशन प्रशारण गरिएको कार्यलाई समेत नगरकार्यपालिकाको बोर्ड बैठकले खेद व्यक्त गरेको छ ।
संकटको यस घडीमा महानगर नेतृत्व विरुद्ध नगरबासीमा भ्रम नछर्न, तथ्यहिन, कुराहरु संचार माध्यम र सामाजिक संजालमा समेत प्रकाशन प्रसारण नगर्न सबैमा अनुरोध गर्दै यस्ता कानून विपरितका कामहरु पुनः दोहरिएमा कानूनी उपचारको मार्ग अवलम्बन गर्न बाध्य हुने प्रवक्ता तिवारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।