वीरगंज, बैशाख २७ । अन्तत: वीरगंजको गण्डक अस्पतालमा कोरोना अस्पताल संचालनमा आउने भयो ।
संघीय स्वास्थ्य मंत्रालयले पठाएको विज्ञ टोली, प्रदेश सरकारको स्वास्थ्य मंत्रालयका प्रतिनिधि तथा वीरगंज महानगरपालिका बीचमा शनिवार बिहान भएको बैठकले गण्डक अस्पताललाई कोरोना अस्पतालको रुपमा संचालनमा ल्याउने निर्णय गरेको हो ।
नारायणी अस्पतालको प्राविधिक व्यवस्थापकीय नेतृत्वमा महानगरपालिकाको संयोजनमा गण्डक अस्पतालको पूर्वाधार प्रयोग गर्ने कुरामा नेपाल सरकारले वीरगंजमै आएर निर्णय लिएको छ ।
यो निर्णय सँगै अब नारायणी अस्पतालको रुटिङ सेवा संचालनमा आउने छ ।
गण्डक अस्पतालमा कोरोना भाइरसको संक्रमणबाट समस्यामा परेका बिरामीहरुको उपचार हुने अब भने पक्का भएको छ ।
नारायणी अस्पतालको प्राविधिक व्यवस्थापन र जनशक्तिको नेतृत्वमा नेशनल मेडिकल र महानगरका पच्चीस पच्चीस प्रतिशत जनशक्ति परिचालन गरि वीरगंज महनगरपालिकाको संयोजनमा अस्पताल संचालन हुने कार्यविधि तय भएको छ ।
यो सँगै वीरगंज महानगरपालिकालको २ सय बेड क्षमता को आइसोलेशन सेन्टरको स्थापना गर्ने निर्णय पनि भएको छ ।
वीरगंज महानगरपालिकाले सर्वपपक्षीय बैठक आयोजना गरि सबैको समन्वयमा महानगर प्रमुखकको संयोजकत्वमा कोभिड १९ प्रतिकार्य तयारी समिति गठन गरेर काम गर्ने निर्णय भएको वीरगंज महानगरपालिकाका प्रेस सल्लाहकार गोविन्द देवकोटाले जानकारी दिनु भयो ।