वीरगंज, बैशाख २८ ।
समान्य विवादपछि थामथुम भइसकेको घटना प्रहरीले आफ्नो दम्भको कारण बढाएको पोल खुलेको छ । लकडाउन शुरु भएपछि प्रहरीले यो महामारीमा आफ्नो ज्यानको माया मारेर दिनरात खटिरहेका चिकित्सक, औषधी व्यवसायी र बैंकरहरुसँग दुर्व्यवहार गरेको घटना सबैसामु छर्लङ्ग भएको भएतापनि पत्रकारहरुसँग गरिएको दुर्व्यवहारका घटनाहरु मध्ये पत्रकार तिवारी यादवको घटना प्रहरी ज्यादतीको कारण प्रकाशमा आएको छ ।
लकडाउनको कारण ठप्प रहेको वीरगंजमा कुनै ट्राफिक समस्या नभएको भएतापनि पार्किङ्गको निहुँमा पत्रकारको मानमर्दन गर्दा पर्सा प्रहरीको नेतृत्व क्षमतामाथि नै गम्भिर प्रश्न उठेको छ ।
आइतबार दिउँसो २ बजेको समयमा वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख निर्मल पनेरु र ट्राफिक इन्चार्ज कमलराज पण्डित लगायतको प्रहरी टोली नारायणी एफएम अगाडी पुगे र एफएम स्टेशनको गेट छेउकै सडकपेटीमा मोटरसाइकल पार्किङ गरिराखेको बहानामा दुई भ्यानमा आएका प्रहरीले लछारपछार गर्दै पक्राउ गरेर हातपात पनि गरेको पीडित पत्रकार तिवारी यादवले बताए ।
प्रहरीले गाली गर्दै मोटरसाइकल हटाउन भने, गाली नगर्नुस् हामी हटाइहाल्छु भन्ने बित्तिकै एकजना असइले लछारपछार गर्दै गाडीमा हाले, भ्यानमा रहेका प्रहरी जवान टि.बी. वाइवालेले कुटपिट समेत गरे ।’ प्रहरी भ्यानमा हालेपछि प्रहरीले आफनो मोबाइल पनि खोसेको उनले बताए ।
स्मरण रहोस प्रभु ईन्स्योरेन्स र सानिमा ईन्स्योरेन्सको मोटरसाईकल पनि त्यही पर्किङ्गमा रहँदा प्रहरीले देखेर पनि नदेखेझै गरेर हिंडे । यो घटनाको जानकारी पाएपछि पर्सा जिल्लामा कार्यरत सम्पूर्ण पत्रकारहरु क्रमशः जिल्ला प्रहरी कार्यालयमा भेला हुन थाले ।
आजै नेपाल प्रहरीका प्रदेश नं. २ का प्रमुख डिआईजी धिरजप्रताप सिंह जिल्ला प्रहरी कार्यालय पर्सामा निरिक्षणको लागि आएका बेला उनले पनि प्रहरी भ्यानमा रहेका पत्रकार तिवारी यादवसँग सम्पूर्ण घटनाको यथार्थ बुझेपछि पत्रकारहरुलाई सम्बोधन गर्दै एसपी गंगा पन्तको अगाडी वहाँ अत्यन्त क्षमतावान हुनुभएकोले यो घटनालाई छानबिन गर्नुहुन्छ भनेर भने ।
सोहि क्रममा एसपी गंगा पन्तले पत्रकारहरुलाई पत्रकारिताको पाठ पढाउन शुरु गरेपछि उनको व्यवहारद्वारा त्यहाँ उपस्थित रहेका सम्पूर्ण पत्रकारहरु आक्रोशित भएका थिए ।
नारायणी एफएमका कार्यकारी अध्यक्ष गोबिन्द देवकोटा, स्टेशन मैनेजर क्रान्ति साह जिल्ला प्रहरी कार्यालय पर्साको प्राङ्गणमा भइरहँदाकै अवस्थामा प्रहरीले कुनै सोधपुछ नै नगरी नारायणी एफएममा अनाधिकृत प्रवेश गरी त्यहाँको कर्मचारीहरुसँग कुरा गरेर भिडियो रेकर्डिङ्ग गर्न खोज्दा एफएममा कार्यरत कर्मचारीहरु अध्यक्ष देवकोटालाई फोन गरेर जानकारी गराएपछि अध्यक्ष देवकोटाले त्यहाँ गएका प्रहरीलाई तपाईहरु बिना इजाजत प्रवेश गर्नुभएको र म स्वयम् जिल्ला प्रहरी कार्यालय पर्सामा छु, जे बुझ्नु छ यही आएर बुझ्नुस् भनेर भनेपछि उनीहरु फर्केर आएपनि भेट गरेनन् ।
पर्सा प्रहरीको ज्यादती र अशोभनीय व्यवहारको कारणले गर्दा पर्सा प्रहरीको सकारात्मक समाचार बहिष्कार गर्ने र भोली सोमबार बिहान ८ बजे घण्टाघरमा जम्मा भई आगामी रणनीति तय गर्ने घोषणा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बञ्जाराले गर्नु भएको छ ।