संसारका शक्ति राष्ट्रहरु आणवीक हतियारबाट सुसज्जीत छन । त्यो हतियार बनाउन कति धन राशी खर्च भयो त्यसको हिसाब किताब त नेपालीहरुको लागि औला भाँचेर पनि गन्न नसकिने खालको छ ।
मानव सभ्यतालाई डर र त्रासमा राख्न आणवीक हतियारहरु सफल भएपनि त्यसका निर्माताहरुको रक्षाकालागि त्यसले रत्तीभर काम नगर्ने पुष्टि भएको छ । एक से एक धनी राष्ट्रहरु यतिबेला कोरोना भाइरस संक्रमणको महामारीका कारण हायल कायल भएका छन ।
विश्वका एक से एक धनी राष्ट्रहरु कोरोना भाइरसको महामारी रोक्न असफल भएका छन् । कोरोना भाइरसले शक्तिशालीहरूको घूँडा टेकाएको छ । संसारलाई कोरोनाले यसरी टक्क रोकिदिएको छ, जुन काम अरू कसैले गर्न सक्दैन । विश्वको अर्थतन्त्र लगातार ओरालो लागेको छ । जसले आर्थिक मन्दी र संकट भित्रिने निश्चित भएको छ ।
बम, बन्दुक, ‘बंकर बस्टर’, पनडुब्बी, युद्धक विमान र आणविक बमले त्यो भाइरसलाई उडाउने भए कति अगाडि नै उडाइसक्थे । यी सबै भएर अग्रपंक्तिमा उभिएको अमेरीका समेत निरीह देख्दा हाम्रो सातोपुत्लो उड्यो । बरु यहि बेला केही कमाउन भनेर नेपाली नेताले धमिलो पानीमा माछा मार्न मति बिगार्दै छन ।
विश्व व्यापारको मार्ग जस्तो थियो कोरोना भाइरसको संक्रमणले पनि त्यही मार्ग उपयोग गर्यो । होइन भने चीनमा देखिएको भाइरस युरोप तिर नगएर नेपाल तिर आउँथ्यो होला । युरोपमा स्वतन्त्रताको गीत गाइयो । एउटै अस्पतालमा कोरोना संक्रमीत र अन्यको उपचार शुरु गरियो । कोरोना नियन्त्रणकालागि पर्याप्त सम्बेदनशिलता देखाइएन जसको परिणाम स्वास्थ्य सेवामा अब्बल मानिएका र ठानिएका स्पेन इटाली अमेरिका बेलायत जस्ता देशले तिरीमिरी झ्याई देख्दै छन ।
त्यसको तुलनामा हाम्रो जस्तोे देश जहाँ आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच छैन त्यसले कस्तो हवीगत भोग्नु पर्ला ? सम्झेर ल्याउँदा समेत पनि आङ सिरिङ हुन्छ । नेपालमा स्वास्थ्य संरचनाहरु पर्याप्त छैनन । दक्ष जनशक्तिको पनि अभाव छ । स्रोत र साधनको कमी छ । परिक्षणकालागि बेलैमा किट समेत उपलब्ध गराउन सक्ने अवस्था देखिएन ।
वीरगंजको छपकैयामा शिल भएको तीन दिन पछि मात्र परिक्षण शुरु भयो हाम्रो यथार्थता यहि हो । यसमा राम्रो गर्न सकियो भने अलिकती सुधार हुन्छ त्यो बाहेक केही हुने अवस्था छैन । नेपालमा कोरोना भाइरसको संक्रमण सैद्धान्तिक रुपमा त तेश्रो चरणमा प्रवेश गरेको छ । विश्व स्वास्थ्य संगठन पनि त्यही भन्छ । तर अन्यत्र तेश्रो चरणमा देखिएको महामारी जस्तो अवस्था नेपालको देखिएको छैन । चीन र भारतको जस्तो अवस्था भयो भने के होला ? प्रश्न जति गम्भिर छ त्यती गम्भिर हाम्रो नेतृत्व छैन ।
प्रदेश नं २ जहाँ एउटा पनि कोभिड अस्पताल छैन । कोरोना संक्रमीतहरुको उपचार गर्ने अस्थायी कोरोना अस्पताल प्रदेश नं २ मा नै छैन । कोरोना संक्रमणको नियन्त्रणको तयारी को कुरा गर्दा देखिने चित्र हो यो । संघ सरकारले प्रदेश २ का केही अस्पताललाई कोभिड अस्पताल घोषणा गरेको छ । तर त्यसमा जनता, राजनीतिक दलहरुको तर्फबाट असहमती व्यक्त गरिएका छन् । प्रदेश सरकारले एउटा पनि अस्पताको व्यवस्था गरेको छैन । सरकारले प्रयास नगरेको त होइन तर उसको प्रयास यस्तो भयो की प्रतिफल आउन सकेको छैन ।
प्रदेश २ मा त्यसैको परिणती हो की अहिले वीरगंजको नारायणी अस्पताल बाहेक अन्य कुनै पनि अस्पताल कोरोना भाइरसको संक्रमीतलाई उपचार गर्न तयारी अवस्थामा छैनन् ।
वीरगंजमा नेशनल मेडिकल कलेज र बयोधा अस्पतालले ५० र ४ बेडको आइसोलेशन वार्ड बनाउने प्रतिबद्धता जनाएपनि उनीहरुले त्यो प्रतिबद्धता कार्यान्वयनमा ल्याएनन । संकटमा नागरिक सेवाबाट उनीहरु पिठ्यु फर्काएर भागे । यही बीचमा नारायणी अस्पतालमा २० बेडको आइसोलेशन वार्ड बन्यो । त्यो बेड बन्नुको सीधा अर्थ थियो कोरोना संक्रमीत व्यक्तिको उपचार त्यही हुन्छ ।
नारायणी अस्पतालमा रुटिङ हेल्थ चेकअप चाहनेहरुले त्यतीबेला यो तयारीमा चुइक्क सम्म पनि बोलेनन । नारायणीमा आइसोलेशन वार्ड बनिसकेपछि सांसद प्रदीप यादव र वीरगंज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीको पहलमा चैत २५ गते प्रदेश सरकारले कोरोना अस्थायी अस्पतालकालागि सम्भाव्यता अध्ययन गर्ने टोली पठायो । डा.सुरेन्द्र यादवको नेतृत्वमा आएको टोलीले केही ठाउँ हेर्यो तर अस्पताल बनाउन यो ठाउँ उपर्युक्त छ भनेर प्रतिवेदन दिएन ।
यो प्रतिवेदन किन दिएन अस्थायी अस्पतालकोलागि जेदोजेहाद गर्नेहरुले त्यसपछि कुरा किन गरेनन ? त्यो आफैमा आश्चर्यको विषय बनेको छ । यो पहलकदमीमा सेवा भावमात्रै भएको भए हुन्थ्यो । अनि मात्र त्यसले पहलकदमीको निरन्तरता पाउँथ्यो । यसमा मेवाको खेलपनि थियो जुन निकै महंगो हुने भएपछि खास स्वार्थ भएकाहरु पछि सरे । कोरोना अस्थायी अस्पताल त बन्ने कुरा भएन । त्यो त हात्तीको देखाउने दाँत मात्र थियो ।
यही परिवेशमा चैत ३० गते वीरगंजमा ३ जना भारतीय नागरिकमा कोरोनाको संक्रमण पुष्टि भइसकेपछि वीरगंजको वातावरण एकाएक आतंकीत बन्न पुग्यो । उनीहरुलाई नारायणी अस्पतालको आइसोलेशनमा भर्ना गरियो । अस्पतालले राती ओपीडी सेवा बन्द गरेको घोषणा गर्यो । जुन मुनासीव नै थियो । स्पेनमा एउटै अस्पतालमा सबैको उपचार गर्न खोज्दा महामारी फैलिएको थियो ।
त्यही कुरा यहा हुनु हुदैन भन्ने स्वर निकै चर्को भयो । चैत ३१ गते वीरगंजमा भएको एउटा बैठकले डेढ करोड रुपैया मासिक भाडा तिर्ने गरि वीरगंज हेल्थ केयर अस्पताललाई तीन महिना सम्म कोरोना अस्थायी अस्पताल बनाएर चलाउने सहमती भयो तर यो सहमतीको मसि सुक्न नपाउँदै यसका कतिपय पक्षधरहरु पछि हटे, हट्ने वतावरण बनाइए जसले गर्दा वीरगंज हेल्थ केयर अस्पताल पनि कोरोना अस्पताल भएन ।
वीरगंज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले सामाजिक संजाल मार्फत अस्पताल दिन अपिल गर्नु भयो । त्यही अपिललाई स्वीकार गर्दै गण्डक अस्पतालका संचालक रहबर अन्सारीले अस्पताल दिने कुरा सामाजिक संजाल मार्फत बैशाख १ गते घोषणा गर्नु भयो । यसलाई महानगर प्रमुख र अन्सारीको “स्टन्ट” भन्नेहरु थुप्रै देखिए तर दुबैजना यो निर्णयलाई व्यहारमा उतार्न क्रियाशिल छन् । कोरोना अस्थायी अस्पताल बन्ने छेकछन्द देखिएन । नागरिक स्तरबाट दबाव बढदो थियो ।
संघ सरकारले बैशाख १ गते प्रदेश २ का नारायणी लगायतका अस्पताललाई कोभिड अस्पतालको रुपमा घोषणा गर्यो । यो सरकारी घोषणा त्यतीबेला वीरगंजमा उठेको माँगको सम्बोधनको रुपमा रहेको थियो । कोभिड अस्पतालको घोषणा भएको केही दिनपछि फेरी गरिब जनताको दुहाई दिंदै नारायणीलाई पूर्वबत संचालनकालागि आवाज उठन थाल्यो । बैशाख ६ गते महानगरपालिकाले गण्डक अस्पतालसँग सम्झौता पनि गर्यो ।
आज बैशाख २८ गते हुँदा सम्म यो विषयले निकास पाउन सकेन । यो बीचमा कोभिड अस्पताल नारायणीमै संचालन गर्नु पर्छ भन्ने आँट सहित खुला रुपमा भन्न सक्ने नेता कोही बाहिर देखिएनन तर भित्र भित्रै कोरोना अस्थायी अस्पताल बनाउन नदिने प्रपञ्चमा भने लागि रहे । यो नागरिकको जीवनसँग खेलवाड गर्ने प्रवृति हो । यो निकै घातक छ ।
वीरगंजमा कोरोना संक्रमीतहरु बढ्ने क्रम जारी छ । यस्तो बेलामा उपचारकालागि बेड अभाव भयो भने त्यसको जवाफदेही कसले लिने ? कोरोना अस्थायी अस्पताल निर्माणकालागि जनताको प्रतिनिधिका रुपमा वीरगंज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीको अडान मात्रै सतिसाल जस्तो देखिन्छ । सरकारको मातहतमा निजी अस्पतालाको पूर्वाधार प्रयोग गर्न सकिने आधारका निर्माणकर्ता सरावगी वास्तवीक जनप्रतिनिधि हुन । भोलीको अवस्था के हुन्छ थाहा छैन ।
संक्रमण नबढोस कामना गरौं । संक्रमण बढ्दै गयो भने सरकारले नीजी अस्पतालहरुलाई आफनो नियन्त्रणमा लिने अवस्था पनि आउला तर महामारी व्यवस्थापनको पूर्व तयारी गर्दै गर्दा सबै सुविधा उपलब्ध भएको अस्पताल निःशुल्क रुपमा उपयोग गर्न पाउने वतावरणको निर्माण गर्न सक्नुले जनता प्रतिको जिम्मेवारी र जवाफदेहीता निर्वाह हँुदैछ भन्ने कुरा स्थापित गरेको छ ।
जनताका अरुपनि प्रतिनिधि छन् । प्रदेश सभाका सदस्यरु ,मुख्यमंत्री र संघीय सांसद सबै जना छन् तर यो किसिमको पहलकदमी लिने नागरिकलाई केन्द्रमा राखेर संकटको व्यवस्थापनको नीति लिने त्यो दुरगामी बिचार भएकाहरुको अभाव भने देखियो । महानगर प्रमुख आशाको एउटा केन्द्र चाही बन्न सक्नु भयो ।
बरु यसमा राजनीतिक बर्चस्व लिने प्रयास भयो । रामलिला र रासलिला सार्वजनीक गर्ने घोषणा भयो । के यो बेला नागरिक कसैको रासलिलाको रमिते बनेर हेर्न लालायीत छन् र ? नागरिकका आफना समस्या छन त्यहाँ उनीहरुले आफना प्रतिनिधि खोजेका छन् ।
आज आफना प्रतिनिधि नपाएका जनताले भोली तिनको रासलिला देखाइदिने अवस्था आउँछ त्यो विषयमा आजै ख्याल गर्नु पर्छ । कसले फेसबुकमा हाल्यो कसले चलाउँछ कसले चलाउँदैन आजको महत्वपूर्ण विषय त यो होइन । आजको विषय त आफ्ना नागरिक जोगाउने हो ।
यो विषयमा सहकार्य गर्न छाडेर सस्तो लोकप्रियताकालागि राजनीतिक “स्टन्ट” गरिनु किमार्थ बुद्धिमतापूर्ण हुँदैन । पछिल्लो पटक पर्साका सबै राजनीतिक दलका नेता, सांसद, मेयर, मुख्यमंत्री प्रदेश सभासद छन । ति सबैले नारायणी अस्पतालको नेतृत्वमा गण्डक अस्पतालमा कोरोना अस्थायी अस्पताल बनाउन आफनो राय सार्वजनीक रुपमा राखेका छन् । यो भन्दा समन्वय र सहकार्य अब के को जरुरी छ ।
यो प्रस्ताव यो यो कारणले ठिक छैन भनेर भन्ने कोही देखिएको पनि छैन । यस्तो कमन एजेण्डालाई कार्यान्वयन हुन नदिन षडयन्त्र किन हुँदैछ ? । षडयन्त्र गर्नेहरुको कतुर्त त एक दिन पटाक्षेप हुन्छ नै । नागरिकले आफनो हिसाब त्यतीबेला चुक्ता गर्लान तर नेशनल ट्रेडिङ्गको गोदाम ,रुङ्गगटा वेलफेयरले संचालन गरेको कान अस्पताललाई देखाएर फेरी पनि मध्य तराईका नागरिकलाई समस्यामा पार्ने काम नगरौं यसैमा सबैको हित हुनेछ ।
लेखक नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का उपाध्यक्ष हुन् ।