वीरगंज, बैशाख २९ ।
पत्रकार माथि पर्सा प्रहरीको दुर्व्यवहार र दमन बढ्दै गएपछि पर्साका पत्रकारहरु आन्दोलित भएका छन् ।
श्रंखलाबद्ध रुपमा प्रहरीले सञ्चारकर्मी तथा पत्रकारहरुमाथि ज्यादति गर्न थालेपछि नेपाल पत्रकार महासंघ पर्साको आवहानमा पत्रकारहरुले आज बिहान वीरगंजको घण्टाघरमा भेला भई धर्नामा बसेका हुन् ।
वीरगंजबाट संचालित सामुदायिक रेडियो नारायणी एफएम तथा नयाँ पत्रिकाका पर्सा जिल्ला संवाददाता तिवारी यादवलाई आईतबार पर्सा प्रहरीले बिनाकारण पक्राउ गरी ५ घण्टा पछी पत्रकारहरुको दबावमा छाडेको थियो ।
विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको प्रवाह नगरी नागरीकलाई सत्य तथ्य सुचना सम्प्रेषण गर्नका लागि अहोरात्र खटिने सञ्चारकर्मी तथा पत्रकारमाथि नै दुर्व्यवहार बढेपछि पत्रकारहरु आन्दोलित भएका हुन् । पत्रकार तिवारी यादवमाथि दुर्व्यवहार गर्ने प्रहरीलाई कारवाही गर्दै माफी माग्नु पर्ने माग राख्दै पर्सेली पत्रकारहरु आन्दोलित भएका हुन् ।
झरीको प्रवाह नगरी पानीमा भिज्दै घण्टाघरमा सामाजिक दुरीको पालना गर्दै गरिएको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले पत्रकार तिवारी यादवमाथि दुर्व्यवहार गर्ने दोषी प्रहरीलाई कारवाही नगरिन्जेलसम्म आन्दोलन जारी रहने बताउनुभयो ।
स्वास्थ्यकर्मी, बैंक कर्मचारी, व्यवसायी र सन्चारकर्मीलाई समेत अन्यन्तै निन्दनीय ढंगबाट पर्सा प्रहरीले व्यवहार प्रदर्शन गरिरहेको भन्दै अध्यक्ष बन्जाराले प्रहरीको दुर्व्यवहारको विरोधमा बाध्य भएर पत्रकारहरु बाहिर धर्नामा निस्कनु परेको बताउनुभयो ।
सन्चारकर्मी मात्र होइन, सम्पूर्ण वीरगंजेली नागरिक, बुद्धिजीवी, व्यवसायी लगायतका सम्पूर्णलाई पर्सा प्रहरीको सबै खाले ज्यादती विरुद्ध एक्यवद्ध हुन अध्यक्ष बन्जाराले आवहान गर्नुभयो ।
संवादबाट महासंघ पछि नहट्ने भन्दै पर्सा प्रहरीको हिजोको दुर्व्यवहारले मिडियालाई संकुचित बनाउने प्रयासको पुष्टि भएको अध्यक्ष बन्जाराको भनाई छ । पर्सा प्रहरी विरुद्ध सबै पत्रकारले भण्डाफोर अभियान सन्चालन गर्नुपर्ने आवहान गर्दै पर्सा प्रहरीका हरेक नकरात्मक कुराहरुलाई बाहिर उजागर गर्ने गरी काम गर्न सम्पूर्ण पत्रकारहरुसँग अध्यक्ष बन्जाराले आग्रह गर्नुभयो ।
आन्दोलनको शुरुवात भइसकेको हुनाले एकताबद्ध भई पर्सा प्रहरीको विरुद्ध चरणबद्ध आन्दोलनमा होमिन सबैलाई आग्रह समेत गर्नु भयो ।
नेपाल पत्रकार महासंघ प्रदेश न. २ का अध्यक्ष दिपेन्द्र चौहानले कोरोना महामारीको समयमा पनि आफ्नो ज्यान जोखिममा राखेर समाचार सम्प्रेषण गर्न फ्रन्टलाइनमा खटिरहेका पत्रकारमाथि दुर्व्यवहार गर्नु दुर्भाग्यपूर्ण घटना भएको बताउँदै प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भइरहेको प्रति आपत्ति जनाएका थिए ।
प्रहरीको यस्तो रबैयाका कारण यस्तो विषम परिस्थितीमा पनि निरन्तर सुचना सम्प्रेषणमा खटिएका पत्रकार तथा सञ्चारकर्मीको मनोबल खस्किएको हुँदा मनोबल बढाउने बेलामा घटाउने प्रवृतिको सम्पुर्ण पत्रकारहरुले भत्र्सना गरेका छन् ।
यसैबीच पर्सा प्रहरीको जयादती विरुद्ध पुन: भोलि बिहान १० बजे घण्टाघरमा १ घण्टा धर्ना र ११ बजे प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको अध्यक्ष श्याम बन्जाराले बताउनु भयो ।