वीरगंज, बैशाख ३१ । वीरगंज महानगरपालिका क्षेत्र कोरोना भाइरसको संक्रमणमा सबैभन्दा धेरै संक्रमित भएको क्षेत्र हो । बुधबारसम्म महानगरभित्र ८२ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।
पिसिआर प्रविधिबाट सबै नगरबासीको परीक्षण गर्दा संक्रमितको संख्या एक हजार पुग्न सक्ने महानगरको अनुमान छ । महानगर प्रमुख विजय सरावगी भन्छन, ’आरडिटी टेष्टमा नेगेटिभ देखिएर ढुक्क भएका थियौं । त्यो त कामै रहेनछ । आरडिटी नेगेटिभ देखिएकाहरुमा पिसिआर टेष्ट पोजेटिभ देखियो ।’
पिसिआर टेष्ट गर्नका लागि किटको अभाव भएको उनको भनाइ छ । उनी भन्छन, ’पिसिआर टेष्ट गर्नका लागि किटको अभाव थियो । त्यही बीचमा संक्रमण फैलियो । ९ सय पिसिआर टेष्ट किट पाएपछि हामीले ४ दिनमा परीक्षण तिब्र बनायौं ।
त्यसैले धेरै संक्रमित फेला परे । थप किट मागेका थियौं, अहिलेसम्म आइपुगेको छैन ।’
महानगरलाई १० हजार किट आवश्यक रहेको प्रमुख सरावगीले बताए । उनले अहिले दैनिक १ सय २५ जनासम्मको परीक्षण भइरहेको जानकारी दिए ।
लकडाउन भन्दा पहिले लुकेर आएका र लुकाएर राखिएका मानिसका कारण महानगरमा कोरोनाको भयावह भएको सरावगीले बताएका छन् । परीक्षणमा संघले प्रभावकारी कदम चाल्न नसक्दा यस्तो भएको उनको गुनासो छ ।
केन्द्रीय सरकारले सहयोग नगर्दा वीरगंजले अहिले यस्तो परिणाम भोगेको भन्दै उनले अब पनि ढिला गरेमा स्थिति भयावह बन्ने बताए । उनी सरोकारवाला निकाय कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणमा गम्भीर बन्न जरुरी रहेकोमा जोड दिन्छन् ।