वीरगंज, जेठ १ । वीरगंज महानगरपालिकाले बैशाख ६ गते कोरोना अस्पताल संचालनकालागि गरेको सम्झौता कार्यान्वयन हुन नदिन अनेकौ तिकडमहरु भए ।
यही तिकडमका बीचमा गण्डक अस्पताल कोरोना अस्पतालको रुपमा संचालनमा आउने भयो । बिहिवार गण्डक अस्पतालमा रहेका बिरामीलाई सिफ्ट गरिएको छ ।
अस्पताललाई डिस्इन्फेकटेड गरिदैछ । कोरोना अस्पतालको सेटअप तयार हुँदैछ र आवश्यक स्थानमा सिसी क्यामरा जडान हुँदैछ । गण्डक अस्पतालमा अहिले ५० शैय्याको अस्पताल संचालन हुने छ ।
बैशाख ३० मा स्वास्थ्य मंत्रालयले वीरगंजको नारायणी अस्पताललाई वीरगंजमा छुट्टै कोरोना अस्पताल संचालनकालागि अख्तियारी दिएको थियो ।
वीरगंज महानगरपालिकाको व्यवस्थापनमा छुट्टै कोरोना अस्पताल संचालन हुने भएको हो । अस्पताल संचालनकालागि वीरगंज महानगरपालिकालाई संघीय मामिला तथा सामान्य प्रशासन मंत्रालयले सहयोग गर्ने प्रतिबद्धता आएको नेकपाका नेता तथा संविधान सभाका सदस्य बिचारी यादवले जानकारी दिनु भयो ।
नेता यादवले आजै संघीय मामिला तथा सामान्य प्रशासन मंत्री हृद्येश त्रिपाठीलाई उहाँकै कार्यकक्षमा गएर भेट गर्नु भएको थियो । भेटमा नेता यादवले वीरगंजमा कोरोना भाइरसको संक्रमणको अवस्था र कोरोना अस्पतालका विषयमा भएका प्रयासहरुको बारेमा जानकारी गराउनु भएको थियो ।
नेता यादवले नागरिकको जीवन जोगाउन अहिलेको आवश्यकता रहेकोमा केही जनप्रतिनिधिहरु जनताको जीवनसँग खेलवाड गर्दै आफनो स्वार्थी राजनीति जोगाउन उद्धत रहेको प्रष्ट पार्नु भएको थियो । कोरोना अस्पताल संचालनकालागि स्रोतको अभाव हुने र अस्पतालको अभावमा नागरिकले सास्ती पाउने अवस्थाबाट वीरगंजलाई मुक्त पार्न नेता यादवले मंत्री त्रिपाठीसँग आग्रह गर्नु भएको थियो ।
नेता यादवले वीरगंज महानगरका प्रमुख विजय कुमार सरावगीको नागरिक रक्षामा देखिएको अडानलाई असफल पार्ने उनकै पार्टीबाट असहयोग भएको बेलामा संघीय सरकारले वीरगंज महानगरलाई सघाउनु पर्ने नेता यादवले सुझाव दिनु भएको थियो ।
जवाफमा मंत्री त्रिपाठीले वीरगंज महानगरका प्रमुख विजय कुमार सरावगीलाई फोन गरेर आवश्यक स्रोत साधनको चिन्ता नलिइकन जनताको सुरक्षाकोलागि काम गर्न सुझाव दिनु भयो ।
उहाँले महानगर प्रमुख सरावगीले कोरोना भाइरसको संक्रमणको नियन्त्रणमा निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै बजेट प्रस्तावना पठाउन समेत र त्यो अनुरुपको बजेट निकासामा आफूले काम गर्ने आश्वासन दिनु भयो । उहाँले महानगरलाई कोरोना अस्पतालको व्यवस्थापनमा नेतृत्वदायी भूमिका निर्वाह गर्न समेत आग्रह गर्दै मंत्रालय साथमा रहने प्रतिबद्धता जनाउनु भएको थियो ।
वीरगंज महानगरपालिका प्रमुख विजय कुमार सरावगीको सचिवालयले पनि मंत्री त्रिपाठीसँग भएको सम्वादको बारेमा पुष्टि गरेको छ । मंत्रीले लागत अनुमान गरि बजेट माँग गरेर मंत्रालयमा पत्राचार गर्न भन्नु भएको सचिवालयले जनाएको छ ।
संघीय मामिला मंत्रालय स्थानीय निकायको तालुकवाला मंत्रालय भएकोले पनि मंत्री त्रिपाठीको सहयोग र सदभाव महत्वपूर्ण रहने छ ।