वीरगंज, जेठ ३ ।
वीरगंज महानगरपालिकाले वीरगंजको गण्डकमा रहेको गण्डक अस्पताललाई कोरोना बिशेष अस्पतालको रुपमा संचालन गर्ने गरि नारायणी अस्पतालाई हस्तान्तरण गरेको छ ।
वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. मदन कुमार उपाध्यायलाई अस्पातल हस्तान्तरण गर्नु भएको हो ।
हस्तान्तरण पूर्व अस्पताल शिल गरिएको थियो । अस्पतालमा सीसी क्यामरा, टेलिभिजन सेट जडान गरिएको छ । नारायणी अस्पतालको शाखाका रुपमा कोरोना विशेष अस्थायी अस्पतालका रुपमा गण्डक अस्पतालमा कोरोनाबाट संक्रमणमा परेका व्यक्तिहरुको उपचार हुनेछ । अस्पताल हस्तान्तरण गर्दै वीरगंज महानगरका मेयर विजय सरावगीले जनताको लागि काम गर्न सकेकोमा हर्षित महशुस गरेको बताउनु भयो ।
गण्डक अस्पताललाई कोरोना अस्पतालको रुपमा विस्तार गराउने क्रममा विभिन्न बाधा अवरोधहरु आएपनि आफूले धैर्यता नगुमाईकन जनताको सेवालाई केन्द्रमा राखेर काम गरेकोले अस्पताल हस्तान्तारणको क्षणमा आइपुग्दा सन्तुष्टि महशुस भएको उहाँले बताउनु भयो । उहाँले कोरोनाको संक्रमण नियन्त्रण होस, त्यसको संक्रमण फैलीन नपाओस भन्ने आफनो सदैब चाहना रहेको बताउनु भयो ।
मेयर सरावगीले जनताको प्रतिनिधि भएको नाताले पूर्व तयारी गर्नु पर्छ भन्ने हुटहुटी जागेर आउँछ त्यसैले कसले के टिप्पणी गर्छ त्यसको प्रवाह नगरि जनतालाई सजिलो होस भनेर व्यवस्थापनमा लागेको बताउनु भयो ।
गण्डक अस्पतालका विषयमा धेरै टिप्पणीहरु पढियो ती टिप्पणीहरुको उद्देश्य हतोत्साहित मात्र गर्नु थियो तर जनताको आर्शिवाद साथमा थियो बिगार्ने भन्दा सपार्ने हातहरुको सहयोग पाएँ उहाँले भन्नु भयो “ त्यसैको परिणाम हो कसरी चल्छ चलाएर देखाउ भन्नेलाई गण्डक अस्पताल कोरोना विशेष अस्पतालका रुपमा चल्ने भयो राम्रोसँग हेर्नुहोला भन्छु ।
५० शैय्याको गण्डक अस्पतालमा मेयर सरावगीले आजै थप २० सेट पूर्ण बेडको व्यवस्था मिलाउनु भयो । गण्डक अस्पतालमा अब ७० शैय्याको व्यवस्थापन भएको छ ।
अस्पताल हस्तान्तरण गर्दै महानगर प्रमुख सरावगीले ३ वटा पानी तताउने डिस्पेन्सर मेसिन, १ सय थान एन नाइन्टी फाइभ मास्क, १ हजार ५ सय थान सर्जिकल मास्क, ९० थान पिपीई, पन्जा १ सय ८० बक्स, थर्मल गन २ थान, ९० थान मेडिकल चश्मा, ९० जोडी जुत्ताको कभर, ९० थान हेड कभर लगायतका स्वास्थ्य सामग्री तथा उपकरण पनि हस्तान्तरण गर्नु भयो ।
महानगरको व्यवस्थापनमा मुलुकमै पहिलो कोरोना विशेष अस्पतालको रुपमा नारायणी अस्पतालले आफनो जनशक्ति तथा प्राविधिक नेतृत्वमा कोरोना अस्पताल संचालनमा ल्याउने भएको छ ।
अस्पतालको स्वामित्व लिदै मेडिकल सुपरिटेण्डेण्ट डा.मदन कुमार उपाध्यायले अस्पताल चाडै संचालनमा आउने बताउनु भयो । अस्पतालको सेटअप मिलाएर डिसइन्फेक्टेड गरे पछि कोरोना भाइरसका संक्रमणमा परेका व्यक्तिहरुलाई भर्ना गरिने उहाँले बताउनु भयो । उहाँले त्यसकालागि आवश्यक तयारीमा आफूहरु जुटेको बताउनु भयो ।
अस्पतालमा सेवा दिने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुकालागि बास र खानाको व्यवस्था नगर सभा गृहमा गरिएको महानगर प्रमुख सरावगीले बताउनु भयो ।