वीरगंज, जेठ ४ । पर्सा जिल्लाबाट निर्वाचित सांसदद्वय प्रदीप यादव र लक्षमणलाल कर्णले पर्सा जिल्लाको लागि कोरोना संकटको सामना गर्नका लागि सरकारसँग विशेष प्याकेजको माग गरेका छन् ।
पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद प्रदिप यादव र क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद लक्षमणलाल कर्णले आइतवार उपप्रधानमन्त्री एवं रक्षा मन्त्री इश्वर पोखरेललाई भेटेर आफ्नो माग राखेका हुन् ।
सरकारको तर्फबाट कोरोना रोकथाम सम्बन्धमा संयोजकको भुमिकामा रहनु भएका संघीय सरकारका उपप्रधानमन्त्री पोखरेलले वीरगंज हाल मुलुकमै सबैभन्दा बढी जोखिमको क्षेत्र भएकोले त्यहाँ चाहिने साधन स्रोत अबिलम्ब उपलब्ध गराउने प्रतिबद्धता दिएको सांसद यादवले बताए ।
वीरगंजमा ठुलो आकारको बृहद र सुविधा सम्पन्न छुट्टै कोरोना अस्पताल बैकल्पिक रुपमा सुरु गर्ने, पिसिआर परिक्षणको दायरा बढाउनका लागि आवश्यक किट पर्याप्त संख्यामा उपलब्ध गराउन, अस्पताल भर्ना हुने संक्रमितहरुको उपचार, खाना तथा अन्य सुविधा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डमा अबिलम्ब शुरु गराउन र वीरगंजमा जारी लकडाउन र निषेधाज्ञाले यहाँको जनजीवन कष्टकर बनेकोले उचित व्यवस्थापन गर्न लगायतका माग सांसदद्वयले राखेका थिए ।
माग उपर सुनुवाइ गर्दै उपप्रधानमन्त्री पोखरेलले तत्कालै यसतर्फ सकारात्मक पहल गर्ने प्रतिक्रिया दिए । उपप्रधानमन्त्री पोखरेलले तत्कालै नेशनल मेडिकल कलेज वीरगंजका सञ्चालक बसरुद्दीन अन्सारीलाई टेलिफोन गरी उक्त अस्पताललाई कोभिड–१९ अस्पताल बनाउनका लागि प्रक्रिया थाल्न निर्देशन दिएका छन् ।
यस कार्यका लागि पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीलाई समेत उपप्रधानमन्त्री पोखरेलले निर्देशन दिंदै यसको लागि आवश्यक प्रबन्ध गर्न भनेका छन् ।
वीरगंजको नारायणी अस्पतालमा सरकारले अहिलेसम्म कोभिड अस्पताल सञ्चालन गरे पनि त्यसको क्षमताभन्दा बढी संक्रमित फेला परेका कारण त्यहाँ व्यवस्थापनमा चुनौति थपिएको छ ।
वीरगंज महानगरपालिका मार्फत गण्डक अस्पताललाई कोभिड अस्पतालको रुपमा सञ्चालनमा ल्याउने तैयारी गरिए पनि संक्रमितहरुको बढ्दो संख्यालाई मध्यनजर गर्दै नेशनल मेडिकल कलेजलाई पनि कोभिड अस्पतालको रुपमा सञ्चालनमा ल्याउनुको विकल्प नरहेको उपप्रधानमन्त्री पोखरेलसँग गरिएको छलफलको निष्कर्ष रहेको सांसद यादवले बताए ।
त्यसैगरि वीरगंज क्षेत्रको लागि कोरोना परिक्षण किट लगायत आवश्यक सामग्री आपुर्तीको लागि पनि उपप्रधानमन्त्री पोखरेलले स्वास्थ्य मन्त्रालय लगायतलाई निर्देशन दिएको सांसद प्रदिप यादवले बताएका छन् ।