वीरगंज, जेठ ४ ।
स्थानिय प्रशासन र वीरगंज महानगरपालिकाको पहलमा नेपाल राष्ट्रिय विद्यापिठ मावि श्रीपुरलाई क्वारेन्टाइन बनाउने निर्णय गरेपछि श्रीपुरवासीले विरोध गरेका छन् ।
श्रीपुरवासीले घना बस्तीको बीचमा रहेको श्रीपुर माविमा क्वारेन्टाइन बनाउँदा डब्लुएचओको मापदण्ड भित्र नपर्ने जिकिर गरेका छन् ।
आज बसेको सर्वदलीय, सर्वपक्षीय भेलाले श्रीपुर विद्यालय घना मानव बस्तीको बीचमा भएकोले सोको विकल्पमा अर्को ठाउँ खोज्न अनुरोध गरेको छ ।
आज बसेको सर्वदलीय, सर्वपक्षीय भेलाद्वारा जारी विज्ञप्ती मार्फत कोभिड–१९ विरुद्ध लड्न आफूहरुले सक्दो सहयोग गर्ने र स्थानिय प्रशासन तथा महानगरपालिकालाई सो ठाउँको विकल्पमा वीरगंजमा रहेका रंगशाला, होटल, विभिन्न सरकारी तथा गैर सरकारी स्वास्थ्य संघसंस्थाहरुमा क्वारेन्टाइन बनाउन अनुरोध गरिएको छ ।
बैठकमा भएको निर्णय अनुसार कुनै पनि अवस्थामा स्थानीयले श्रीपुर माविमा क्वारेन्टाइन बनाउन नदिने विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष एवं स्थानीय जनता समाजवादी पार्टीका नेता सुन्दर कुर्मीले बताउनुभयो ।
बैठकमा नेकपाका स्थानीय नेता राजकपूर मण्डल, स्थानीय बासिन्दा तथा नेपाली कांग्रेस वडा नं. ११ का बुथ सभापति गोपालप्रसाद रौनियार, स्थानिय मनोज महतो, प्रसन्न महतो, महेश्वरलाल महतो, प्रयास महतो, विनोद कुमार महतो, अजय चौरसिया लगायतको सहभागिता रहेको थियो ।