वीरगंज, जेठ ४ । वीरगंजमा उपचाररत कोरोना संक्रमित बिरामीहरुलाई भोजन तथा खाजा खुवाउने जिम्मा एक सामाजिक संस्थाले लिएको छ ।
अस्पतालको आइसोलेसनमा रहेका बिरामीहरुले पोषणयुक्त भोजन नपाएको गुनासो आएपछि त्यसको व्यवस्थापन गर्ने जिम्मा सामाजिक संस्था सानो पाइलाले लिएको हो ।
संक्रमित बिरामीले पोषणयुक्त भोजन नपाएको गुनासो गर्दै अस्पतालमा उपचाररत एक जना संक्रमित पत्रकारले चाउचाउ खाएर हामी कोरोनासँग लड्दैछौं भनेर स्वास्थ्यमन्त्रीलाई पत्र लेखेको समाचार समेत सार्वजनिक भएको थियो ।
कोरोना संक्रमितका लागि खाना र खाजाको व्यवस्थापन गर्ने जिम्मेवारी सानो पाइला नामक सामाजिक संस्थालाई दिइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए ।
संस्थाले पनि संक्रमितहरुलाई खाना र खाजाको व्यवस्थापन गर्ने इच्छा देखाएका कारण त्यसको व्यवस्थापन गर्ने जिम्मेवारी दिइएको बस्नेतले बताए ।
आइसोलेसनमा रहेका बिरामीलाई खाना र खाजा खुवाउन आफूहरु तयार रहेको सानो पाइलाका प्रमुख कार्यकारी अधिकृत कञ्चन झाले जानकारी दिए । झाले भने, ‘विश्व स्वास्थ्य संगठनको मापदण्ड र राष्ट्रिय कार्यविधि अनुसार चार समयमा भोजन तथा खाजा उपलब्ध गराउने विषयमा तयारी भइरहेको छ । सोमबार बिहानदेखि संक्रमितहरुलाई खाना तथा खाजा खुवाउने गरी अहिले काम भइरहेको छ ।
यस विषयमा अस्पताल प्रशासन, जिल्ला प्रशासन कार्यालय पर्सा र वीरगंज महानगपालिकासँग मौखिक सहमति भइसकेको छ । भोलि नै यस विषयमा लिखित सहमति पनि हुने छ ।’
सानो पाइलाले नारायणी अस्पताल र सिद्धार्थ माविको आइसोलेसन कक्षमा रहेका संक्रमितहरुलाई खाना तथा खाजा खुवाउन सकिने बताएको छ ।
नारायणी अस्पतालमा ७१ र सिद्धार्थ माविमा २६ जना संक्रमित उपचाररत रहेका छन् ।