वीरगंज, जेठ ५ ।
सानो पाइलाले आज देखि वीरगंजमा उपचाररत कोरोना संक्रमित बिरामीहरुलाई खाना र खाजा खुवाउन शुरु गरेको छ ।
वीरगंजमा रहेको सामाजिक संस्था सानो पाइलाले नारायणी अस्पताल र सिद्धार्थ माविको आईसोलेशनमा रहेका बिरामीहरुलाई आज बिहान स्वस्थ्य खाजा खुवाएको छ ।
सानो पाइलाले आज बिहानको खाजामा दुईवटा रोटी ,आलुको भुजिया, एउटा अण्डा, एउटा स्याउ, अगुंर र एक गिलास दुध खुवाएको छ ।
स्वस्थ्य खाजा पाएपछि आइसोलेशनमा रहेका बिरामीहरु खुशी भएको नारायणी अस्पतालमा उपचार गराई रहनुभएका नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले जानकारी दिनुभयो ।
अध्यक्ष बन्जाराले खाना र खाजाको व्यवस्थापनको जिम्मा लिएका गैर सरकारी संस्था सानो पाइलालाई धन्यवाद समेत व्यक्त गर्नुभएको छ ।
अस्पतालको आइसोलेसनमा रहेका बिरामीहरुले पोषणयुक्त भोजन नपाएको गुनासो आएपछि त्यसको व्यवस्थापन गर्ने जिम्मा सामाजिक संस्था सानो पाइलाले लिएको थियो ।
आइसोलेसनमा रहेका बिरामीहरुलाई नियमित रुपमा खाना र खाजा खुवाउन संस्था तयार रहेको सानो पाइलाका प्रमुख कार्यकारी अधिकृत कञ्चन झाले जानकारी दिनुभएको छ ।
हाल नारायणी अस्पतालमा ७१ र सिद्धार्थ माविमा २६ जना संक्रमित उपचाररत रहेका छन् ।