वीरगंज, जेठ ५ । जिल्ला प्रशासन कार्यालय पर्सामा आज सम्पन्न सर्वपक्षिय बैठकले निषेधाज्ञा हटाउने र व्यवस्थित रुपमा लकडाउन जारी राख्ने निर्णय गरेको छ ।
बैठकले लकडाउनलाई पूर्ण पालन गरी कृषि कर्मलाई सुचारु गर्ने, कृषिको लागि आवश्यक पर्ने वातावरणका लागि सहजिकरण गर्ने, खेतीपातीका लागि सामाजिक दुरी कायम गरी काम संचालन गर्ने, ढुवानीको सहज वातावरण बनाउने, अतिआवश्यक उद्योगहरु संचालन गर्ने, मलखाद, बिउ बिजनको उचित प्रबन्ध गर्ने, खेती गर्ने किसानलाई उचित प्रोत्साहित गर्ने निर्णय गरेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बहादुर बस्नेतले जानकारी दिनुभयो ।
यसैगरी बैठकले भारतीय तरकारी र फलफुल आयातमा पूर्ण रुपमा प्रतिबन्ध लगाउने, नेपाली तरकारीलाई भने होम डेलिभरी गर्न दिने, मंगलबार देखि वीरगंजका अतिआवश्यक खाद्यान्न, किराना सामग्री, दुध, ग्यास पानी आदीको बिक्री वितरण गर्ने पसलहरुमा सामाजिक दुरी कायम गरी उच्च स्वास्थ्य सतर्कताका साथ जतिसक्दो सबेरैदेखि बिहान ८:३० बजे सम्म मात्र खोल्न दिने बताईएको छ ।
बैठकमा सञ्चारमाध्यम, सामाजिक कार्यकर्ता, राजनीतिक दलका कार्यकर्ता तथा सामाजिक सञ्जाल मार्फत कोरोना सम्बन्धी सचेतनालाई अझै व्यापकता गर्ने निर्णय गरेको नेकपा पर्साका अध्यक्ष प्रभु हजराले जानकारी दिनुभयो ।
सर्वपक्षिय बैैठकमा कोरोना परिक्षणका लागि पिसिआर किटको अभाव रहेकोहुँदा तत्काल स्वास्थ्य मन्त्रालयसँग आवश्यक किटको माग गर्ने निर्णय समेत गरेको हजराले जानकारी दिनुभयो ।
त्यसैगरी बैठकमा नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले राजनीतिक दलहरूले संघिय तथा प्रदेश सरकारलाई नारायणी अस्पतालमा आवश्यक स्रोत साधनका लागि घचघच्याउनु पर्ने कुरामा जोड दिदै वीरगंजमा कन्ट्याक्ट ट्रेसिङबाट आएका अधिकांश व्यक्तिहरूको पिसिआर चेकजाँचको लागि किट पर्याप्त नभएको हुँदा सबै काम रोकिएको बताउनु भयो ।
छलफल कार्यक्रममा नगरप्रमुख विजय सरावगीले राजनीतिक दलले वडा–वडा तथा गाउँ–गाउँमा क्वारेन्टाइन संचालनका सम्बन्धमा समन्वयकारी भूमिका निर्वाह गर्न आग्रह गर्दै पर्साका १४ वटै स्थानीय तहमा पर्साका प्रमुख राजनीतिक दलहरुले कोरोना विरुद्धको यस लडाईमा सहयोग गर्नुपर्ने बताउनु भयो ।
बैठकमा पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीले राजनीतिक दल, वीरगंज महानगरपालिका, अस्पताल, उद्योग वाणिज्य सङ्घ, विभिन्न हकहित व्यवसायी सङ्घले दिएको सुझावलाई सुरक्षा समितिको बैठकमा लगेर आधिकारिक निर्णय गरिने जानकारी दिनुभयो ।
बैठकको सहजीकरण पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले गर्नुभएको थियो ।
पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीको अध्यक्षतामा सम्पन्न बैठकमा नेकपा पर्साका अध्यक्ष प्रभु हजरा, नेपाली कांग्रेस पर्साका अध्यक्ष अजय द्विवेदी, जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादव, वीरगंज महानगरपालिकाका प्रमुख विजय सरावगी, सशस्त्र प्रहरी उपरिक्षक दिपेन्द्र कुँवर, राष्ट्रिय अनुसन्धान प्रमुख, नेपाली सेनाका श्रीपुर ब्यारेकका गणपति, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दिपेन्द्र चौहान, उपाध्यक्ष के.सी. लामिछाने, एकोराबका महासचिव गोविन्द देवकोटा, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया, औषधी व्यवसायि संघका केन्द्रिय उपाध्यक्ष प्रकाश खण्डेलवाल लगायतको उपस्थिति रहेको थियो ।