वीरगंज, जेठ ८ । वीरगंज महानगरपालिकाको व्यवस्थापनमा नारायणी कोरोना विशेष अस्पताल आजबाट वीरगंजको गण्डक अस्पतालमा संचालनमा आएको छ ।
कोरोना विशेष अस्पताल नारायणी अस्पतालको शाखाको रुपमा संचालनमा आएको हो । गण्डक अस्पतालमा नारायणी कोरोना विशेष अस्पताल संचालनमा आएसँगै सिद्धार्थ माविमा बनाइएको सेमी आइसोलेसन वार्डमा राखिएका २५ जना संक्रमितहरुलाई आजै गण्डक अस्पतालमा स्थानान्तरण गरिएको छ ।
वीरगंज महानगरपालिकाले बैशाख ६ गते गण्डक अस्पतालसँग कोरोना विशेष अस्पताल संचालनका लागि सम्झौता गरेको थियो । अस्पतालका संचालक एवं नेकपा वीरगंज महानगरकमिटी अध्यक्ष रहबर अन्सारीको घोषणा र महानगरपालिका सँगको सम्झौतालाई यसअघि राजनीतिक ‘स्टन्ट’ भन्दै निकै चर्चामा ल्याइएको थियो ।
तर नेपालमै महानगरपालिकाको व्यवस्थापनमा कोरोना विशेष अस्पताल संचालन भई नयाँ मिसाल कायम भएको छ । गण्डक अस्पतालमा नारायणी अस्पतालको शाखाको रुपमा संचालनमा आएको ७० शैय्याको कोरोना विशेष अस्पताल महानगरपालिका वा अन्य कुनै स्थानीय तहले व्यवस्थान गरेको पहिलो अस्पताल हो ।
सार्वजनिक विद्यालयहरुमा क्वारेन्टिन बनाउन नदिने वीरगंजको समाजका अगाडि रहबर अन्सारीको आँट र योगदान कुनै राजनीतिक स्टण्ट भन्दा कम त छैन तर त्यसले आम नागरिकको हित नै गरेको छ ।
अरुले क्वारेन्टिन बनाउन नदिन स्टण्ट गरे अन्सारी र सरावगीको स्टण्टले कोरोना भाइरसको संक्रमण विरुद्ध संघर्ष गरिरहेका बिरामीहरुका लागि सुविधा सम्पन्न आइसोलेसन अस्पताल दियो । स्टण्ट धेरै मान्छेको भलाईका लागि गरिनु पर्छ भन्ने छाप छोड्न सफल छन युवा राजनीतिकर्मी रहबर अन्सारी ।
सम्झौता पछि मन्त्रालय र मन्त्रीसम्म धाएर अस्पताल चलाउन नदिन अनेकौ प्रपञ्च रचियो । चलाउन कसले रोकेको छ, सक्नेले चलाए भयो नी, भनेर हुन्छ भन्दै सार्वजनिक संचार माध्यममा धेरै कराइयो । उता अड्काउने यता कराउने गजबको स्टण्ट गरिदै थियो तर अन्त्यमा माछो माछो भ्यागुतो भयो ।
वीरगंज महानगरपालिका प्रमुख विजय कुमार सरावगीले अस्पताल संचालनको विषयमा लिएको अडान र गरेको पहलकदमी नागरिकको पक्षमा थियो । त्यो अडान दुरगामी थियो भन्ने कुराको पुष्टि त वीरगंजमा थप आइसोलेसन निर्माणका लागि संघ सरकारको टोलीले गरेको अनुगमन भ्रमणले पनि पुष्टि गर्छ ।
गण्डक अस्पतालमा कोरोना संक्रमितको उपचार गर्ने विषयलाई राजनीतिकरण नगरि संचालनको वातावरण बनाउन दिएको भए महानगर प्रमुखको गतिशीलता र उत्साह अझ बढेर जान्थ्यो र महानगरका नागरिकले थप सुविधाहरु पाउने थिए । तर वातावरणमा स्वार्थी राजनीतिको यति धेरै लेपन लगाइयो कि उत्साह मरेर जाने अवस्था बन्यो ।
हिजो आइसोलेसन वार्ड बनाउनेहरु, कोरोना विशेष अस्पताल बनाउन प्रदेश सरकारका तर्फबाट विज्ञको टोली ल्याएर सम्भाब्यता अध्ययन गराएँ भन्नेहरु जब वीरगंजमा संक्रमितको संख्या बढ्दै गयो, संक्रमितको उपचारका लागि ठाउँ अभाव हुन थाल्यो, त्यसबेला काहाँ हराएका थिए ? के पहल गरे ? यी प्रश्नको जवाफ त दिनै पर्छ ।
नारायणी अस्पतालकै शाखाको रुपमा गण्डक अस्पताललाई अहिले कोरोना विशेष अस्पतालको रुपमा संचालनमा ल्याइएको हो ।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायकै नेतृत्वमा र नारायणी अस्पतालकै शाखाको रुपमा गण्डक अस्पतालमा कोरोना संक्रमितको उपचार थालिएको हो । डा. उदय सिंहले गण्डक अस्पतालमा प्राविधक जनशक्तिको नेतृत्व पाउनु भएको छ ।
गण्डक अस्पताललाई कोरोना विशेष अस्पताल बनाउने बारे वीरगंज महानगरपालिकाले गरेको सम्झौता कार्यान्वयन नगराउन विभिन्न चलखेल भएपनि आजबाट अस्पताल संचालन गराउन सफल भएको महानगरका मेयर विजय सरावगीले बताउनुभयो ।
महानगर प्रमुख सरावगीले महानगरपालिकाले लिएको अडान प्रति ऐक्यबद्धता जाहेर गर्ने आम वीरगंजवासी, नागरिक समाज, नेपाली कांग्रेस, नेकपा, जनता समाजवादी पार्टी लगायत सम्पूर्ण राजनीतिक दलका जिल्ला प्रमुखहरु, सांसदहरु, जनप्रतिनिधिहरु, संचारकर्मी, महानगरका कर्मचारी साथीहरु, विशेषतः गण्डक अस्पताल निःशुल्क रुपमा उपलब्ध गराउने अस्पतालका संचालक रहबर अंसारी, नेकपाका नेताहरु नागेन्द्र चौधरी र संविधान सभा सदस्य बिचारी यादवले निर्वाह गरेको भुमिका प्रति आभार प्रकट गर्नु भएको छ ।
उहाँले यो बेला सबैले मिलेर अज्ञात शत्रुलाई परास्त गर्ने बेला भएकोले सम्पूर्ण नागरिकको जीवनको रक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न सबैलाई अपिल गर्नु भएको छ ।
अहिले अस्पताल संचालन गर्ने महानगरपालिकाको सपना त पुरा भएको छ तर वीरगंजले भोलिको दिनमा ब्यहोर्नु पर्ने महाविपत्तिलाई जित्ने गरि लाग्न हामी सबै एक हुन जरुरी रहेको बताउनु भएको छ ।