वीरगंज, जेठ ८ । वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले वीरगंजवासीको लागि पिसीआर मेसिन एवं परिक्षण कीट खरिद गर्न र थप आइसोलेसन वार्ड स्थापनाको लागि महानगरपालिकालाई सहयोग गर्न सम्पूर्ण नगरवासीलाई आब्हान गरेका छन् ।
मेयर सरावगीले आफ्नो आधिकारिक फेसबुक पेज मार्फत छिटो र छरितो रुपमा नगरवासीहरुको कोरोना परिक्षणका लागि पिसीआर मेसिन एवं परिक्षण किट र अन्य स्वास्थ्य सामग्री खरिद गर्न तथा थप आइसोलेसन वार्ड स्थापना गर्न सहयोगको लागि आब्हान गरेका हुन् ।
मेयर सरावगीले आफ्नो आधिकारिक फेसबुक पेज मार्फत ‘सबै वीरगंजवासीसँग अनुरोध छ म सम्पूर्ण वीरगंजवासीहरुको छिटो र छरितो रुपमा कोरोना परिक्षणका लागि पिसीआर मेसिन, २० हजार थान परिक्षण कीट र कोरोनासँग लड्ने अन्य स्वास्थ्य सामग्री खरिद गर्न चाहन्छु, म एउटा ५ सय शैय्याको थप आइसोलेसन वार्ड पनि स्थापना गर्ने सोचमा छु, के तपाई सबैले सहयोग गर्नुहुन्छ ?’ भन्दै नगरवासीलाई सहयोग गर्न अपिल गरेका हुन् ।
पछिल्लो समयमा वीरगंज र आसपासका क्षेत्रमा कोरोना परिक्षण ठप्प भएपछी मेयर सरावगीले यस्तो आब्हान गरेको बुझिएको छ ।
वीरगंज कोरोना भाइरसको हट्स्पट बनिसक्दा समेत संघीय र प्रदेश सरकारले बेवास्ता गरेको छ । पछिल्लो एक हफ्ता देखि पर्याप्त रुपमा कोरोना परिक्षण नहुँदा संक्रमण फैलने डर समेत बढेर गएको छ ।
नारायणी अस्पतालसँग कोरोना परिक्षण गर्ने भिटिएम किट नहुँदा संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङ्ग गरेर कोरोना परिक्षण हुनसकेको छैन् ।
वीरगंजमा हाल बारा, पर्सा र प्रदेश नं. २ का अन्य जिल्ला गरि ९६ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।