वीरगंज, जेठ ९ । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण अभियानमा वीरगंजका निजी अस्पतालहरुले पनि सहयोग जुटाउन थालेका छन् ।
निजी अस्पतालहरुको संस्था एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टीच्यूट नेपाल (अफिन) का तर्फबाट १६ लाख बराबरको सामग्री उपलब्ध गराइएको छ ।
वीरगंज महानगरपालिकाले कोरोना संक्रमितहरुको उपचारमा चालेको कदमलाई सहयोग पुर्याउने उद्देश्यले आवश्यक सामग्री उपलब्ध गराइएको संस्थाका प्रदेश अध्यक्ष राम श्रेष्ठले जानकारी दिनु भयो ।
संस्थाको अगुवाईमा वीरगंज महानगरपालिकाले सिद्धार्थ माविमा संचालन गरेको सेमी आइसोलेसनमा ९५ सेट म्याट्रेस र बेडसिट सहितको बेड उपलब्ध गराइएको छ ।
त्यसैगरी वीरगंज महानगरपालिकाको व्यवस्थापनमा संचालित नारायणी कोराना विशेष अस्पताल गण्डकमा कोरोना संक्रमितहरुको सेवा गर्न संस्थाको तर्फबाट आठ जना स्वास्थ्यकर्मीहरु खटाइने कुरा लिखित जानकारी गराएको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
बेडसेट सहयोग स्वरुप नेशनल मेडिकल कलेजले २० थान, भवानी अस्पतालले १९ थान, प्रभु अस्पतालले ५ थान, एएमसी अस्पतालले ५ थान, एल.एस. न्यूरो अस्पतालले १६ थान, आशाराम अस्पतालले १० थान, इन्डो नेपाल आँखा अस्पतालले ५ थान, तराई अस्पतालले १० थान र शाह नर्सिङ्ग होमले ५ थान गरि ९५ थान बेडसेट उपलब्ध गराईएको हो ।
संस्थाका अध्यक्ष श्रेष्ठले यस्तो संकटको बेलामा सहयोग गर्ने सबै अस्पतालहरुलाई धन्यवाद दिदै भविष्यमा पनि सहयोगी भावना देखाई रहन् आग्रह गर्नु भएको छ ।