वीरगंज, जेठ ९ । वीरगंजवासीको लागि गण्डक अस्पतालमा छुट्टै कोरोना विशेष अस्पताल संचालनमा ल्याउन सफल वीरगंज महानगरपालिकाले अब कोरोना परीक्षण गर्ने पिसीआर मेसिन र परिक्षण कीट खरिदको तयारी शुरु गरेको छ ।
कोरोना भाईरस कोभिड—१९ को उच्च जोखिममा रहेको वीरगंज महानगरपालिकाले कोरोना विशेष अस्पताल संचालनमा ल्याएपछि महानगरवासीलाई थप सुरक्षित राख्न पिसीआर मेसिन र परिक्षण कीट पनि महानगरको तर्फबाटै खरिद गर्ने तयारी गरेको हो ।
मेसिन सहित परिक्षण कीट खरिदका लागि अभियान शुरु गरेको वीरगंज महानगरपालिका प्रमुख विजय सरावगीले सहयोगकालागि सबैसँग अपिल समेत गरेका छन् ।
महानगर प्रमुख विजय सरावगीले कोरोना संक्रमणको अवस्थालाई दृष्टिगत गरि त्यसलाई नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न अति आवश्यक रहेको बताउनु भयो ।
उहाँले त्यसकोलागि अब अरुको मुख ताक्नु भन्दा आफैले काम गर्ने बताउनु भयो । करिब डेढ महिनादेखिको अथक प्रयासमा गण्डक अस्पताललाई कोरोना विशेष अस्पतालको रुपमा संचालनमा ल्याउन सफल भएपछि महानगरपालकाले पिसीआर मेसिन र परिक्षण कीट खरिद गर्ने तयारी गर्न लागेको हो ।
नारायणी अस्पतालमा ७१ जना र २५ जनाको सिद्धार्थ माध्यामिक विद्यालयमा बनाईएको सेमी आईसोलेसनमा उपचार भईरहेकोमा गण्डक अस्पताललाई नारायणी अस्पतालकै शाखाको रुपमा कोरोना अस्पताल बनाइएपछि अहिले सिद्धार्थ माध्यमिक विद्यालयमा रहेका २४ जनालाई बिहीबार गण्डकमा सारिएको छ ।
लामो राजनीतिक लडाईपछि वीरगंज महानगरपालिकाले केन्द्र सरकारसँग पहल गरेर गण्डक अस्पताललाई कोरोना अस्पतालको रुपमा संचालनमा ल्याउन सफल भएको हो ।
गण्डक अस्पतालका संचालक एवं नेकपाका वीरगंज महानगर अध्यक्ष रहबर अन्सारीले कोरोना अस्पताल बनाउन आफ्नो अस्पताल निःशुल्क दिने घोषणा गरेपछि शुरु भएको राजनीति खेलमा अन्ततः पूर्णविराम लागेको छ ।
सरकारी प्रकृयाको झण्झट, आफनै पार्टीको नेतृत्वमा रहेको प्रदेश सरकारको अवरोध तथा व्यक्तिगत राजनीतिक प्रतिशोधका कारण उत्पन्न खिचलो तथा विभिन्न आलोचना र टिकाटिप्पणीकाबीच पनि कोरोना अस्पताल स्थापना गर्न निरन्तर लागि रहेका वीरगंज महानगरपालिकाका प्रमुख विजय सरावगीलाई जिल्लाका राजनीतिक दल, नेकपाका नेताहरु र स्थानीयको समर्थनले कोरोना अस्पताल स्थापनामा सफलता प्राप्त भएको हो ।
अस्पताल स्थापनामा अहोरात्र खटेका मेयर सरावगीलाई आफ्नै दलका नेता र कार्यकर्ताहरुले पनि कडा अलोचना गरेर विभिन्न आरोप समेत लगाएका थिए ।
तर, वहाँ ती आरोप र आलोचनाको पछि नलागी वीरगंज महानगरपालिकालाई कोरोना भाईरस कोभिड १९ बाट कसरी बचाउन सकिन्छ भन्नेतर्फमात्रै निरन्तर लागिरहनु भयो ।
वीरगंज महानगरपालिकाका कर्मचारी, नारायणी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको पनि उहाँलाई भरपुर सहयोग र साथ रह्यो ।
उहाँ कोरोना अस्पताल स्थापना गर्ने लडाईमा अग्रपंक्तिमा रहनु भयो ।
गण्डक अस्पताललाई कोरोना अस्पतालको रुपमा स्थापना गरी संचालनमा ल्याएपछि अब वीरगंज महानगरपालिका नगरवासीहरुको लागि आफ्नै छुट्टै पिसीआर मेसिन र परिक्षण कीट खरिद गर्ने तयारीमा रहेको मेयर सरावगीले बताउनु भयो ।
उहाँले बिहिबार नै सामाजिक सञ्जाल फेसबुक मार्फत वीरगंजवासीको लागि पिसीआर मेसिन र परिक्षण कीट खरिद गर्न एवं थप ५०० शैय्याको आइसोलेसन वार्ड स्थापनाको तयारी गरेको भन्दै सबैलाई सहयोगका लागि अनुरोध गर्नु भएको थियो ।
पिसीआर मेसिन खरिदका लागि छलफल भईरहेको र एकदुई दिनमै बोलबत्र समेत आह्वान गरिने उहाँले बताउनु भयो ।
मेयर सरावगीले भन्नु भयो , ‘मैले शुरुमै भनेको थिएँ वीरगंजमा पाँच हजारको पिसीआर परीक्षण गर्नुपर्छ । अब संक्रमितको संख्यापनि बृद्धि हुँदै गएको छ, त्यसैले अब १५ हजार थान परिक्षण कीट र पिसीआर मेसिन खरिदको तयारीमा छौं । एकदुईदिन मै बोलपत्र पनि आह्वान गर्ने तयारीमा छौं ।’ पिसीआर मेसिन खरिदका लागि छलफल चलिरहेकोले यसमा चाडै निर्णय हुने पनि उहाँले बताउनु भयो ।
उहाँले भन्नु भयो, ‘म जर्मनीको पिसिआर मेसिनको खोजीमा छु । अहिलेसम्म जर्मनीको मेसिन नै धेरै संचालनमा रहेको र भरपर्दो पनि भएकोले त्यही मेसिन ल्याउने सोचमा छु ।’ मेयर सरावगीले वीरगंज महानगरपालिका आफैले पिसीआर मेसिन खरिद गर्ने र यस कार्यमा सहयोगका लागि आफूले सबैलाई साझा अनुरोध गरेपछि सहयोग गर्नेहरु पनि अगाडि आउन थालेका छन् ।