वीरगंज, माघ २६
नेपाली कांग्रेस निकटका विभिन्न भातृ संगठनहरुले आज वीरगंजमा विरोध प्रदर्शन गरेका छन् । बालुवाटारको जग्गा प्रकरणमा नेकपा नेतालाई उन्मुक्ति तथा अन्यलाई राजनैतिक बदनियत र प्रतिशोधपूर्ण मुद्दा लगाउने निर्णय भएको भन्दै कांग्रेस निकटका भातृ संगठनहरुले विरोध प्रदर्शन गरेका हुन् ।
वीरगंजको घण्टाघरबाट निस्केको विरोध जुलुस माईस्थान, महाविरस्थान, आदर्शनगर, घडिअर्वा हुँदै पुनः घण्टाघरमा पुगी कोणसभामा परिणत भएको थियो ।
विरोध जुलुशमा सहभागिहरुले स्वतन्त्र र निष्पक्ष न्याय गर, निर्दाेषलाई फसाउन पाइदैन, काण्डै काण्डको सरकार चाहिँदैन, भ्रष्ट सरकार चाहिँदैन् लगायतका नारा लेखिएको प्ले कार्ड सहित चर्को नाराबाजी समेत गरेका थिए ।
तरुण दल पर्साको आयोजनामा भएको विरोध प्रदर्शनमा नेपाली कांग्रेस पर्साका कोषाध्यक्ष ईम्तियाज आलम, तरुण दलका नेता सहरुम राउत गद्दी, हुकुम सिंह, कालु सिंह, ने.वि.संघ ठाकुरराम बहुमुखी क्याम्पस ईकाई अध्यक्ष मनोज साह, जि.पी. कोईराला फाउण्डेसन पर्साका सदस्य धिरज गुप्ता, तरुण दल पर्साका सचिव विवेक चौरसिया, विद्यार्थी नेता बद्री तिवारी, विकास तिवारी, रोशन सिंह, मुनराज तिवारी, राज चौरसिया लगायत ने.वि.संघ, महिला संघ, किसान संघ लगायतका नेपाली कांग्रेस निकटका भातृ संगठनका नेता तथा कार्यककर्ताहरुको उल्लेख्य सहभागिता रहेका थियो ।