वीरगंज, जेठ १२ । वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले आज वीरगंज महानगरपालिका वडा नं. ३१ बेल्वा, ईस्लामपुर मा निर्माण भईरहेको बाँधको निरीक्षण गर्नु भएको छ ।
वीरगंज महानगरपालिकामा रहेको पाँच वटा वडाहरु वडा नं. ३१ बेल्वा, ईस्लामपुर, २९ बस्डील्वा, ३० लालपर्सा, २७ उदयपुरघुर्मी र २८ बगहीमा हरेक वर्ष हुने अत्याधिक वर्षाका कारण भेडाहा खोलाबाट आउने बाढीले गर्दा हुने लाखौं, करोडौंको जनधनको क्षतिबाट जोगाउनको निम्ति ईस्लामपुर र बेल्वामा पर्ने भेडाहा खोलामा वीरगंज महानगरपालिकाद्वारा बाँध निर्माणको काम शुरु गरिएको छ ।
प्रत्येक वर्ष हुने अत्याधिक वर्षाका कारण भेडाहा खोलाबाट आउने बाढीले गर्दा पुरै गाउँ लगायत हजारौं बिघा जग्गाहरु समेत डुबानमा पर्ने गरेका छन् भने यी पाँच वटा वडाहरुको लागि भेडाहा खोला अभिशापको रूपमा नै रहेको कुरा स्थानियहरु बताउँछन् ।
बाढीले खेतमा लगाइएको बालीहरुको क्षती गर्नु साथै गाउँभित्र पानी पसेर लाखौं, करोडौं रुपैयाँ को क्षती हुने गर्दछ ।
मेयर सरावगी चुनाव जितेर आए देखि नै भेडाहा खोलाको मुद्दा केन्द्र, प्रदेश र योजना आयोग सम्म उठाउँदै आएका छ्न् ।
स्थानिय जनताहरुको माग अनुसार बाढीले गर्दा जनधनको क्षति हुनबाट जोगाउन मेयर सरावगीको निर्देशनमा पाँचवटै वडामा पर्ने भेडाहा खोलामा अहिले बीस फिटको बाँध निर्माणको काम शुरु गरिएको वीरगंज महानगरपालिकाका राजनीतिक सल्लाहकार मुकेश द्विवेदीले बताउनु भयो ।