वीरगंज, जेठ १३ । वीरगंजको नारायणी अस्पतालमा तत्काल सम्पूर्ण जेनरल सेवा संचालन गर्न जनता समाजवादी पार्टी वीरगंज महानगर कार्यसमितिले माग गरेको छ ।
अस्पतालमा उपचाररत सबै कोरोना संक्रमित डिस्चार्ज भइसकेकाले छिटोभन्दा छिटो अस्पतालमा जेनरल सेवा सुचारु गर्न माग गर्दै अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. मदन उपाध्यायलाई जनता समाजवादी पार्टी वीरगंज महानगर कार्यसमितिले ज्ञापन पत्र बुझाएको हो ।
अस्पतालमा आकस्मिक, ओपीडी, प्रसुती लगायत सबै सेवाहरु तत्काल संचालनमा ल्याउन माग गर्दै ज्ञापन पत्र बुझाइएको जनता समाजवादी पार्टी वीरगंज महानगर कार्यसमितिका अध्यक्ष लियाकत अलीले जानकारी दिए ।
ज्ञापन पत्र बुझ्दै मेसु उपाध्यायले सबैको सहयोगमा नारायणी अस्पताललाई छिटो भन्दा छिटो सर्वसाधारण जनताका लागि जेनरल सेवा दिने अस्पतालको रुपमा सञ्चालनमा ल्याउने बताए ।
ज्ञापन पत्र बुझाउने क्रममा महानगर अध्यक्ष अली सहित कोषाध्यक्ष अफरोज आलम, वडा नं ३ का वडा अध्यक्ष बैजुलाल स्वर्णकार, सदस्य तुफैल अख्तर, नेताहरू रूपेशमान सिंह, सलाउद्दीन मंसुरी, राहुल तुल्स्यान, जियाउल हक हवारी, विद्यार्थी नेता मधुसूदन चौरसिया लगायतको उपस्थिति रहेको थियो ।