वीरगंज, जेठ १३ । वीरगंजको गण्डक अस्पतालमा संचालित नारायणी विशेष कोरोना अस्थायी अस्पतालबाट मंगलबार राति साढे १० बजे २१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
डिस्चार्ज हुनेमा ५ जना महिला र १६ जना पुरुष छन् । डिस्चार्ज हुने सबैजना वीरगंज महानगरपालिकाका स्थानीय बासिन्दा रहेका छन् ।
पछिल्लो दुईवटा पिसीआर रिर्पोट नेगेटिभ आएपछि २१ जनालाई डिस्चार्ज गरिएको वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले बताउनु भयो । ‘दुई जना बालबालिका सहित २१ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्,’ मेयर सरावगीले भने, ‘डिस्चार्ज हुने सबै वीरगंज महानगरपालिकाका स्थानिय बासिन्दा हुन् ।’
गत वैशाख २७ र ३० गते कोरोना पुष्टि भएदेखि उनीहरूलाई आइसोलेसनमा राखिएको थियो ।
वीरगंज महानगरपालिकाले यहाँको गण्डक अस्पतालसँग सम्झौता गरी त्यसलाई अस्थायी कोरोना अस्पताल बनाएपछि सिद्धार्थ माविको सेमी आइसोलेसनमा उपचाररत रहेका २१ जना संक्रमितलाई गण्डकमा सारिएको थियो ।
गण्डक अस्पताल अहिले नारायणी अस्थायी कोरोना अस्पतालको रूपमा सञ्चालन भइरहेको छ । अस्थायी अस्पतालमा ३० जना संक्रमित भर्ना भएका थिए । ‘२१ जना डिस्चार्ज भएपछि अब ९ जना कोरोना संक्रमित मात्र बाँकी छन,’ मेयर सरावगीले भने, ‘उनीहरूमा पनि कोरोनाको कुनै लक्षण देखिएको छैन । स्वास्थ्य अवस्था सामान्य छ ।’
डिस्चार्ज भएका २१ जनालाई मेयर सरावगी र नेकपा महानगर कमिटी अध्यक्ष रहबर अन्सारीले पुष्प गुच्छा सहित बिदाई गर्दै उज्जवल भविष्यको कामना गरेका थिए ।