संजिव मिश्र
वीरगंज, माघ २७
पर्साको बिन्दवासिनीमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तर्गत स्थानिय तहका जनप्रतिनिधि तथा शिक्षा सम्बद्ध पदाधिकारीको लागि क्षमता विकाश कार्यशाला गोष्ठी आजदेखि शुरु भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै बिन्दवासिनी गाउँपालिका अध्यक्ष श्रीलाल साह कानुले शिक्षामा देखिएका समस्याको बारेमा सबैसँग समन्वय गरेर अगाडि बढने प्रतिबद्धता जनाउनु भएको छ ।
विगतको दिनमा गाउँपालिकाबाट शिक्षाको लागि छुट्याइएको बजेट समेत खर्च नभएकोमा अध्यक्ष कानुले दुखेसो पोख्नुभयो ।
शुरुको दिनमा कर्मचारीलाई अनुभवको कमीले गर्दा विभिन्न समस्या देखिएको बताउनुभयो ।
भोली हुने छोरी शिक्षा बिमा कार्यक्रममा सबैलाई आ आफनो ठाँउबाट सहयोग गर्न आग्रह समेत गर्नुभयो ।
तालिम लिएर आएका शिक्षकहरु कि त अवकाश नत्र अस्थायीको कारणले छोडेर जानुभएको कारण ईजिआरपी तालिम उपलब्धी मुलक नभएको र शैक्षिक सामाग्री विद्यालयहरुमा भएता पनि तालिम प्राप्त शिक्षक नभएकोले प्रयोग नगरिएको उपस्थित शिक्षकहरुले बताउनुभयो ।
वडा नम्बर २ को वडा अध्यक्ष संजय चौहानको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष सागिर मियाँ, ३ की वडा अध्यक्ष सलमा खातुन, ४ का वडा अध्यक्ष अनोज कुमार चौरसिया, ५ का सुकदेव राउत अहिर, बोर्ड सदस्य रामाधार बिन, रामचन्द्र चौरसिया, किरणदेवी, फुलमती देवी, रुवाबजा खातुन, निमित्त प्रमुख प्रशासकिय अधिकृत मुन्ना साह रौनियार, लेखा अधिकृत मिथलेश कुशवाहा, शिक्षा प्रमुख कपिल लामिछाने, नेपाल शिक्षक महासंघ बिन्दवासिनीका अध्यक्ष धर्मेन्द्र चौबे, नेपाल शिक्षक संघ बिन्दवासिनीका नन्दु कुमार साह लगायतको सहभागिता रहेको थियो ।
कार्यशालामा ईजिआरपिका जिल्ला कोर्डिनेटर भरत सहनी, बिन्दवासिनीका शिक्षा प्रमुख कपिल लामिछाने र समाजिक संस्था जिल्ला समन्वय समितीका महासचिव एवं बिन्दवासिनीका समाजिक शाखा प्रमुख रामप्रवेश साहले तालिमबारे चर्चा गर्नुभएको थियो । आज देखि शुरु भएको तालिम तीन दिन सम्म चल्ने छ ।
युएसएआईडी र नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको सहयोग र गाँउपालिकाको आयोजनामा कार्यशाला गोष्ठी शुरु भएको छ ।