वीरगंज, जेठ १४ । भारतको विभिन्न शहर तथा क्वारेन्टिनमा रोकिएका सयौं नेपाली नागरिक बुधबार रक्सौल वीरगंज नाका हुँदै स्वदेश फर्किएका छन् ।
विगत एक महिनादेखि रक्सौलको हजारीमल क्वारेन्टिन तथा भारतको जम्मू काश्मीर स्थित माता वैष्णो देवी दर्शनको क्रममा कटरा क्वारेन्टिनमा रोकिएका सयौंको संख्यामा रहेका नेपालीहरुलाई बुधबार बिहान ८ बजे चेकजाँच गरी नेपाल प्रवेश गराइएको वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले बताउनु भयो ।
‘बारा, पर्सा, रूकुमलगायत करिब २५ जिल्लाका ४६ महिला सहित ४ सय ९९ जना नेपालीहरू सीमा क्षेत्रमा आएर अलपत्र परेपछि दुबै देशका सुरक्षा निकायबीच मंगलबार भएको सहमति अनुसार बुधबार बिहान नेपाल प्रवेश गराइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले बताउनु भयो ।
वीरगंजको मुख्य नाका हुँदै नेपाल प्रवेश गर्नेमा रक्सौल क्वारेन्टिनमा रहेका २ सय २२ जना, माता वैष्णो देवी दर्शनको क्रममा भारतको जम्मू कश्मीर स्थित कटरा क्वारेन्टिनमा रहेका ११ जना नेपालीको टोली र रोजगारीका लागि भारतको मुम्बई, सुरत, दिल्ली लगायत अन्य शहरबाट विभिन्न सवारी साधन तथा पैदल मार्ग हुँदै करीब ५ दिन पहिले रक्सौल नाका आइपुगेका सयौंको संख्यामा रहेका नेपाली नागरिकलाई बुधबार नेपाल प्रवेश गराइएको सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले जानकारी दिनु भयो ।
‘आज बिहान ८ बजे देखि उच्च सतर्कताका साथ प्रत्येक नेपालीको प्रारम्भीक स्वास्थ्य परीक्षण गरेर नेपाल प्रवेश गर्न दिएका छौं’, ‘नजिकमा घर भएका नेपालीलाई सम्बन्धित जिल्लाको प्रशासनलाई जिम्मा लगाउँदै छौं र टाढाका जिल्लामा घर भएका नेपालीलाई वीरगंजकै क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाएका छौं ।’ सहायक प्रजिअ बस्नेतले भने ।
बिहानै सशस्त्र प्रहरीका पर्सा प्रमुख दीपेन्द्र कुँवर रक्सौलको हजारीमल स्थित क्वारेन्टिनमा पुगेर नेपालीहरुलाई स्वदेश लैजाने कुराको सूचना दिनु भएको थियो । उहाँले ‘म तपाईहरुलाई लिन आएको हुँ निकै दुःख खेप्नु भयो होला अब चिन्ता नगर्नुहोस पटक पटकको प्रयास पछि आज तपाईहरु स्वदेश फर्किन पाउनु हुन्छ’, भनेपछि क्वारेन्टिनमा रहेका नेपालीहरु खुशीले गदगद भएका थिए ।
पटक पटकको प्रयास बल्ल आज सफल भएको वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले बताउनु भयो ।
रक्सौबाट नेपाल प्रवेश गरेका नेपाली नागरिकहरुको सीमामा रहेको इनर्वा प्रहरी चौकीमा नाम ठेगाना इन्ट्री गरेर प्रवेश गराइएको थियो ।