वीरगंज, जेठ १४ । वीरगंज महानगरपालिकाले स्थापना गरेको कोरोना कोषमा सहयोगी दाताहरुबाट आर्थिक सहयोग जुट्न थालेको छ ।
महानगरपालिकाले कोरोना संक्रमणबाट महानगरवासीलाई सुरक्षित राख्न वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीको सक्रियताले कोरोना विशेष अस्पतालको स्थापनापछि अहिले क्वारेन्टिन व्यवस्थापन र परीक्षण गर्नका लागि पिसिआर मेसिन र भिटिएम किट खरिदका लागि सहयोग आह्वान गरेको छ ।
अहिले विभिन्न संघ संस्था र व्यक्तिगत रुपमा पनि सहयोगहरु जुट्न थालेको वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले जानकारी दिए ।
बुधवार मेयर सरावगीलाई भगवती स्टील प्रा.लि.बाराले एकलाख १ हजार र सानो पाईला बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरगंजले ५१ हजार एकसय ५१ रुपैंयाको चेक हस्तान्तरण गरेका छन् ।
भगवती स्टिल प्रा.लि.का प्रतिनिधि र सानो पाईला बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी प्रबन्धक तसबिरन खातुनले वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीलाई कार्यकक्षमै पुगेर चेक हस्तान्तरण गरेका हुन् ।
वीरगंज महानगरपालिकाले स्थापना गरेको कोरोना कोषमा अहिलेसम्म एक करोड भन्दा बढी रकम जम्मा भईसकेको मेयर सरावगीले बताए ।
प्रदेश नम्बर २ को एक मात्र महानगरपालिका र नेपालकै प्रमुख नाकामा कोरोना संक्रमण देखापर्नु भन्दा पहिले देखिनै यसको रोकथाम र नियन्त्रणमा गम्भीर भएर लागि परेका मेयर सरावगीलाई यसअघि जनताको काम नगरेको भन्दै आलोचना गर्नेहरुले पनि अहिले प्रशंसा गर्न थालेका छन् ।
मानव जगतलाई नै संकटमा पारेको यो विषम परिस्थितिमा महानगरपालिकाका मेयरको सक्रियता प्रशंसनीय रहेकोले सबैले यो काममा सहयोग गर्नुपर्ने सानो पाईला बचत तथा ऋण सहकारी संस्थाकी प्रबन्धक तसबिरन खातुनले बताईन् ।
यसैबीच कोरोना संक्रमितहरु निको भएर गएपछि खाली भएको नारायणी अस्पतालमा पुनः सर्वसाधारण बिरामीहरुको उपचार सेवा शुरु गर्न मेयर सरावगी तल्लीन रहेका छन् ।
सोमबार साँझ नारायणी अस्पतालबाट ४३ जना एकैपटक डिस्चार्ज भएपछि मंगलबार बिहानै मेयर सरावगी आफै नारायणी अस्पतालमा पुगेर अस्पताललाई निःसंक्रमण गराएका थिए ।
नारायणी अस्पतालका चिकित्सकहरुसँगको समन्वयमा बिहीबारदेखि नारायणी अस्पतालमा डाईलोसिस सेवा शुरु गरिने भएको छ ।
नारायणी अस्पतालमा कोरोना संक्रमितहरुको उपचार हुन थालेपछि नारायणी अस्पतालबाट दिईदै आएको सबै सेवाहरु ठप्प भएका थिए । बिहीबारदेखि पहिलो चरणमा डाईलोसिस सेवा शुरु गर्न अस्पताल तयार भएको मेयर सरावगीले बताए ।