वीरगंज, जेठ १४ । तराई हस्पीटल एण्ड रिसर्च सेन्टर वीरगंजले कोरोना भाईरस रोकथाम तथा नियन्त्रणमा कुनै किसिमको सावधानी नअपनाएर उपचारका लागि आउने सर्वसाधारण तथा स्वास्थ्यकर्मीहरुको जिवनसँग गम्भीर लापरवाही गरिरहेको भेटिएकोे छ ।
विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले सुझाएको नियमलाई तराई अस्पतालले एक प्रतिशत पनि पालना गरेको देखिदैन ।
उपचारको लागि अस्पताल आउने चिकित्सक एवं स्वास्थ्यकर्मी तथा सर्वसाधारणका लागि प्रवेशद्वारमै स्क्रीनिङ्ग तथा सेनिटाईजिङ्ग बुथ राख्नु पर्ने हो तर तराई अस्पतालमा प्रवेश गर्ने सर्वसाधारणको लागि चेकजाँच गर्ने एउटा ज्वरो नाप्ने थर्मल गन समेत राखिएको छैन् ।
सामान्य तथा विभिन्न रोगको उपचारका लागि दैनिक सयौंको संख्यामा आम सर्वसाधारण अस्पताल आउने गरेका छन् तर अस्पतालमा कोरोना रोकथामका लागि सामान्य सावधानी समेत अपनाइएको छैन् ।
अस्पतालको आकस्मिक र ओपिडी वार्डमा सामाजिक दुरीको पालना नगरी सर्वसाधारणको भिडभाड हुने गरेपनि अस्पताल प्रशासन सावधानी अपनाउनुको साटो कानमा तेल हालेर बेसेको छ ।
आईसियुको तेश्रो तल्लामा भेटिएका एकजना कुरुवाले अस्पतालले मलाई तपाईहरुले भने जस्तै ज्वरो नाप्ने तथा सेनिटाईजिङ्ग गर्ने, त्यस्तो कुनैपनि चेकजाँच नगरी प्रवेश गर्न दिएको बताए ।
विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस महामारीलाई नेपालमा नियन्त्रण तथा रोकथामका लागि सरकारले विभिन्न उपाय अपनाएर रोकथाम गर्न लागि परेको बेला विभिन्न स्वास्थ्य सम्बन्धी समस्या लिएर अस्पातल आउने सर्वसाधारण अस्पतालको चरम लापरवाहीको कारण कोरोना भाइरस जस्तो महामारीको शिकार हुने अवस्थालाई नकार्न सकिन्न ।
एकातर्फ अस्पतालले आकस्मिक तथा ओपीडि सेवाका लागी आउने सर्वसाधारणलाई कोरोना रोकथामका लागि कुनै सावधानी अपनाएको छैन तर चेकजाँच र उपचार निर्वाध रुपमा गरिरहेको छ भने अर्को तर्फ कोरोना रिपोर्ट नल्याएको भन्दै गएको एकसाताको अन्तरालमा तराई अस्पतालका नियमीत विरामी एक वृद्ध तथा एक नवजात शिशुलाई अस्पतालले भर्ना नलिएपछि अन्य अस्पताल धाउँदा धाउँदै मृत्युवरण हुन पुगेका छन् ।
अस्पतालमा आउने सर्वसाधारण बिना कुनै रोकटोक ईमरजेन्सी, ओपीडी तथा आईसियु जस्तो समवेदनशील कक्षमा समेत प्रवेश गर्ने गरेका छन् ।
विभिन्न ठाउँहरुबाट बिरामी बोकेर अस्पताल आउने एम्बुलेन्सबाट पनि बिरामीलाई सामान्य ज्वरो समेत चेकजाँच नगरी सिधै इमरजेन्सी वार्डमा प्रवेश गराईन्छ ।
ईमरजेन्सी वार्डमा समेत सामाजीक दुरी अपनाएर बेडहरु राखिएको छैन् ।
ईमरजेन्सी तथा ओपीडीका लागी टिकट काट्ने काउण्टरमा समेत भिडभाड गरी सामाजीक दुरी अपनाइएको देखिदैन । करिब ३० देखि ४० जनाको संख्यामा ओपीडिमा उपचारका लागी आएका सर्वसाधारणहरुलाई समेत बिना सामाजीक दुरी अपनाई एकै ठाउँमा लाईन लगाएर बसाइएको देखियो ।
अस्पताल प्रशासनको लापरवाही यहीँ रोकीदैन सर्वसाधारणको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले पनि सामान्य गाउन मात्र लगाएर बिरामीको उपचार गरिरहेका छन् ।
आइसियु जस्तो समवेदनशील वार्डमा खटिरहेका स्वास्थ्यकर्मीलाई पिपीई सेट बिना सामान्य गाउन मात्र लगाएर खटाइएको नाम नछाप्ने सर्तमा एक चिकित्सकले बताए ।
एनी हाउ पैसा कमाउ नितीका कारण अस्पतालको यस्तो लापरवाहीले उपचारका लागी अस्पताल पुग्ने सर्वसाधारण तथा स्वास्थ्यकर्मी समेत कोरोनाको उच्च जोखिममा रहेका छन् ।
पैसा कमाउन मात्र ध्यान केन्द्रीत राहेको, कोरोना जस्तो महामारी सँग लड्न तथा रोकथाममा कुनै सावधानी नअपनाएर सर्वसाधारण तथा स्वास्थ्यकर्मीको जीवनसँग खेलवाड गर्ने यस्ता अस्पताललाई सम्बन्धित निकायले तत्काल कडा कार्वाही गर्नुपर्ने जरुरी देखिन्छ ।
यस सम्बन्धमा बुझन् तराई अस्पतालको प्रशासन शाखा हेर्ने दिलिप राउत कुर्मीलाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन् ।