वीरगन्ज, जेठ १४ । वीरगन्ज महानगरपालिकाले कोरोनासँग लड्नको लागि १० करोडको कोरोना राहत कोष स्थापना गर्ने जनाएको छ ।
मंगलवार बसेको वीरगंज महानगरपालिकाको बोर्ड बैठकले कोरोना राहत कोष स्थापना गर्ने विषयमा नीतिगत निर्णय गरेको महानगरपालिकाका मेयर विजय सरावगीले बताउनुभयो ।
पर्साका १४ स्थानीय निकायहरुको सहयोग, उद्योगी व्यवसायी तथा विभिन्न दाताहरुको सहयोगमा राहत कोषलाई पूर्णता दिने मेयर सरावगीले बताउनुभयो । मेयर सरावगीले राम्रो काममा सबैले सहयोग गर्नेमा आफु आशावादी रहेको बताउनुभयो ।
उहाँले वीरगंजवासीको लागि ठुलो क्षमता भएको नयाँ पिसिआर मेसिन र भिटिएम किट छिट्टै खरिद गर्ने तयारी भइरहेको बताउनु भयो ।
मंगलबार सम्पन्न बोर्ड बैठकले वीरगंजमा रहेको क्वारेन्टिन संचालन तथा व्यवस्थापनको लागि ५० लाख रुपैंया छुट्याएको छ ।
वीरगंज महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अरुण कुमार महतोका अनुसार यो अभियान महत्वकाँक्षी भएकोले पनि असम्भव छैन् । कोरोना नियन्त्रणको जिम्मा संघीय सरकारको रहेको भएपनि अब वीरगंज महानगरपालिकाले संघ र प्रदेशको मुख ताकेर मात्र यस भेगको कोरोना नियन्त्रण सम्भव नरहेको उनको भनाई छ ।
कोरोना कोषमा जम्मा भएको रकमबाट ठुलो क्षमता भएको नयाँ पिसिआर मेसिन, भिटिएम किट तथा आवश्यक मेडिकल सामग्रीहरु खरिद गर्ने लक्ष्य महानगरपालिकाले लिएको छ ।
महतोले वीरगंज महानगरपालिकासँग पिसिआर परिक्षणको लागि दक्ष ल्याब टेक्निसियन नरहेको भए पनि नारायणी अस्पतालमा अधिकृत सरहकै दक्ष ल्याब टेक्निसियन रहेको बताउनु भयो ।
हालको लागि त्यहीबाट संचालन गर्ने तथा पछि आवश्यक परे महानगरपालिकाले करारमा दक्ष टेक्निसियन महामारी अवधिसम्मको लागि भर्ना गर्न सक्ने उहाँले बताउनुभयो ।
यता, कोरोना कोष स्थापना गर्नु महानगरपालिकाको सहि निर्णय भएको वीरगंज उद्योग वाणिज्य संघको भनाई रहेको छ ।
वीरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ताले यो अभियानमा वीरगंजका उद्योगी व्यवसायी तथा उद्योग वाणिज्य संघले सहयोग गर्ने बताउनु भयो ।
उनको अनुसार वीरगंज करिडोरका ठप्प रहेको उद्योगहरु खुलाउन अति नै आावश्यक रहेको तथा खुलेका उद्योगहरुमा काम गर्ने मजदुरहरुको टेस्ट पनि जरुरी रहेको बताउनु भयो ।
गुप्ताका अनुसार हाल सरकारले पर्सालाई मात्र ४ हजार किट दिएको छ । त्यो एकदमै अपुग रहेको छ । यसरी कछुवा गतिमा कोरोना नियन्त्रण नहुने उहाँको धारणा छ ।
द्रुत गतिमा सबै पर्सावासीको टेस्ट भयो भने यस भेगमा कोरोना छिट्टै नियन्त्रण हुने तथा व्यापार, उद्योग छिट्टै खुलाउन सकिने भएकोले यस क्षेत्रका सबै उद्योगी, व्यापारीले कोरोना कोषमा सहयोग गर्ने गुप्ताको भनाई छ ।
हरेक व्यापारीको सामाजिक उत्तरदायित्व हुन्छ र व्यापारीहरुले त्यो उत्तरदायित्व निभाउँछन् गुप्ताले बताउनु भयो ।
सरकारले कोरोना नियन्त्रण कोषको लागि रकम दिएको खण्डमा त्यसमा ट्याक्स फ्रि गरेको छ, अर्थात व्यसायीले सो रकम खर्चमा देखाउन सक्नेछन् ।
वीरगंज महानगरपालिकाको मंगलवार सम्पन्न बोर्ड बैठकमा पिसिआर मेसिन र भिटिएम किट खरिद गर्न कोरोना कोषको लागि दाताहरुबाट आर्थिक सहयोग लिने प्रस्ताव बहुमतले पारित भएको छ ।
बारा, पर्सा र रौतहटसम्मको बिरामीको रेखदेख तथा उपचार वीरगंजमै भइरहेको कारण वीरगंज महानगरपालिकालाई आर्थिक भार परेको हुदाँ प्रदेश र संघीय सरकारसँग आवश्यक रकमको माग गर्नुपर्ने वीरगंज महानगरपालिकाका बोर्ड सदस्य अरविन्द गुप्ताले बताउनुभयो । तर मेयर सरावगीले यस भन्दा पहिला पनि रकम रकमान्तरको विषयमा निर्णयहरु भएको दाबी गर्दै विकासे योजनाका रकमहरु रकमान्तर गरी राहत वितरणमा प्रयोग गरिएको बताउनु हुन्छ ।
जुन काममा पनि विरोध गर्ने परम्परा वीरगंजमा रहेको बताउँदैं मेयर सरावगीले जनतासँगको सहकार्यमा कोरोनालाई जसरी पनि हराउने बताउनु भयो ।
कोरोना कोष स्थापनामा सबैले सहयोग गर्ने र जनताकै जित हुने उहाँको दाबी छ । पर्सामा जनघनत्वको हिसाबले लाखौं मान्छेको परिक्षण गर्न जुरुरी छ ।
लामो समय सम्म संघ र प्रेदशको मुख ताक्ने अवस्थामा छैनौं । सहयोगका लागि पटक–पटक संघ र प्रदेशलाई पत्राचार गरेको तर केही सुनुवाई भएन, मेयर सरावगीले भन्नुभयो ‘टेस्टको नतिजा पनि ढिला आईरहेका छन् ।
नारायणी अस्पतालमा भएको पिसिआर मेसिनले २४ घण्टामा ७५ भन्दा बढी परिक्षण गर्न सक्दैन भने परिक्षण गर्नको लागी चाहिने भिटिएम किट पनि पर्याप्त मात्रामा केन्द्र र प्रदेश सरकारले दिएको छैन् ।
त्यसकारण व्यापक रुपमा सबै नगरवासीको परिक्षण गर्नका लागि दिनमा करिब ५०० जना को टेस्ट गर्न सक्ने ठुलो क्षमता भएको आफ्नै पिसिआर मेसिन संचालन गर्न जरुरी रहेको छ ।’
वीरगंजमा मात्र नभई पर्सा जिल्लाका सबै स्थानीय निकायसँग सहकार्य गरि सबैको सहयोगमा पर्सा जिल्ला भरीका जनताको कोरोना परिक्षण गरि पोजेटिभ रिपोर्ट देखिनेहरुलाई आईसोलेसनमा राखि उपचार गर्न सकियो भने मात्र हाम्रो समाज र वीरगंज लगायत पुरै जिल्लालाई सुरक्षित गर्न सक्छौं र चाँडै ग्रीन जोन बनाउन सक्छौं, यसैको लागि आफुले सबैसँग सहयोग मागेर छिटो भन्दा छिटो ठुलो क्षमता भएको नयाँ पिसिआर मेसिन र भिटिएम किट खरिद गरि वीरगंज लगायत पर्सा जिल्लाभरीका जनतालाई कोरोनाबाट मुक्त गराउन लागि परेकोले यस अभियानमा सबैले साथ दिन आग्रह समेत गरेका छन् ।