वीरगंज, जेठ १६ । वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले कोरोना विरुद्धको लडाइँ सबैको साझा लडाइँ भएकोले यसमा सबैले हातेमालो गरी एकअर्कालाई सहयोग गर्नुपर्ने ठाउँमा राजनीतिक षड्यन्त्र गरेर आफूलाई बदनाम गराउन खोजिएको आरोप लगाएका छन् ।
शुक्रवार वीरगंज महानगरपालिकाका मेयर सरावगी र पोखरिया नगरपालिकाका मेयर दीपनारायण रौनियार (मन्टु) बीच भएको फोन सम्बाद भाइरल भएपछी मेयर सरावगीले यस्तो प्रतिकृया दिएका हुन् ।
‘मैले केहि समय अगाडी सञ्चार माध्यमहरु मार्फत पोखरियामा ८ सैयाको आइसोलेसन निर्माण भएको खबर प्राप्त गरेको थिए’, मेयर सरावगीले भने, ‘त्यसैलाई आधार मानेर मैले मन्टुजीसँग पोखरियामा बिहीबार भेटिएका संक्रमितहरुको उपचार त्यही गर्न अनुरोध गरेको हो, अब यो कुराको अडियोलाई भाइरल बनाई बङ्ग्याएर मेरो विरुद्ध षड्यन्त्र गरिँदै छ ।’
मेयर सरावगीले पर्साका अन्य स्थानीय तहहरुसँग समेत कोरोना भाइरस रोकथाम र संक्रमितहरुको उपचारका लागि सहकार्य गर्न आग्रह गरेको बताए । उनले केहि स्थानीय तहहरु राजी समेत भएको दाबी गरे ।
‘केहि स्थानीय तहहरुसँग समन्वयको कुरा चल्दै छ, केहि त सहयोग गर्न राजी समेत भएका छन् । मन्टु जीसँग पनि मैले यहि भनेको छु, अडियो सुन्दा यो कुरा प्रष्ट हुन्छ, खै यसलाई बङ्गयाएर म माथि किन षड्यन्त्र गरिँदै छ ?, मेयर सरावगीले प्रश्न गरे ।’
मेयर सरावगीले पोखरियाका मेयर रौनियारलाई शुक्रबार पोखरियामा भेटिएका संक्रमितहरुको उपचार आफ्नै नगरपालिकामा रहेको पोखरिया अस्पतालस्थित आइसोलेसनमा गर्न अनुरोध गरेको फोन सम्बादको अडियो भाइरल भएको छ ।
मेयर सरावगीले वीरगंज महानगरपालिकासँग भएको साधन र स्रोत सिमित रहेकोले पोखरिया अस्पताल मै निर्माण गरिएको ८ सैयाको आइसोलेसनमा पोखरियामा भेटिएका संक्रमितहरुलाई राखेर उपचार गर्न अनुरोध गरेका थिए ।
सम्बादमा मेयर सरावगीले पोखरिया नगरपालिकाका मेयर रौनियारलाई भनेका छन्, ‘वीरगंजमा विगत ६५ दिन देखि प्रदेश भरीका कोरोना संक्रमितहरुको उपचार हुँदै छ, हाम्रो साधन र स्रोत सिमित छन्, कति दिनसम्म हामीले सबैको जिम्मा लिने ? अब तपाईहरुले आफ्नो स्थानीय तहमा भेटिएका संक्रमितहरुको व्यस्थापन आफै गर्नु पर्यो । व्यस्थापन गर्न सक्नु हुन्न भने सहकार्य गर्नुस ।’
फोन सम्बादमा सरावगीले संघ र प्रदेश सरकारको सहयोग बिना वीरगंज महानगरपालिकाले प्रत्येक दिन क्वारेन्टाइनमा रहेका व्यक्ति, कोरोना संक्रमितहरु, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको व्यवस्थापनमा लाखौँ रकम खर्च गरिरहनु परेको भनेका छन् ।
‘संघ र प्रदेश सरकारको सहयोग बिना नै हामीले प्रत्येक दिन लाखौं रकम खर्च गरेर व्यस्थापन गर्दैछौं, अब तपाईंहरुले पनि सहयोग गर्नु पर्यो नभए हामी धान्न सक्दैनौ ।’
मेयर सरावगीले रौनियारलाई गण्डक अस्पतालमा उपचाररत कोरोना संक्रमितहरुलाई शनिबारसम्म पोखरिया मै रहेको आइसोलेसनमा लैजान आग्रह गरेका छन् । उनले स्थानीय तहहरुले सहकार्य नगरे आफुले अब वीरगंज बाहेकका कोरोना संक्रमितहरुको उपचार गर्न नसक्ने प्रष्ट पारेका छन् ।
यस्तो छ वीरगंज महानगरपालिकाका मेयर सरावगी र पोखरिया नगरपालिकाका मेयर रौनियार बीचको फोन सम्बाद :