वीरगंज, जेठ १६ । विश्वभरिका मानव जगतलाई नै संकटमा पारेको यो विषम परिस्थितिमा कोरोना भाईरस संक्रमण नियन्त्रण र रोकथामका लागि अहोरात्र खटिएका वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीलाई नागरिक समाजले पनि साथ दिने भएका छन् ।
वीरगंज महानगरपालिकामा शुक्रबार बसेको नागरिक समाजको भेलाले कोरोना नियन्त्रण र रोकथामका लागि मेयर सरावगीको सक्रिय भूमिकाको प्रशंसा गर्दै अहिलेको विषम परिस्थितिमा कोरोनासँग लड्न फुटेर होईन जुटेर लाग्नुपर्नेमा जोड दिए ।
भेलामा बोल्ने नागरिक समाजका अगुवाहरुले नागरिकलाई कोरोनाबाट बचाउनका लागि संघ र प्रदेश सरकारको भूमिका शुन्य देखिएको र स्थानीय सरकारको भूमिकामा कुनै कमी नदेखिएको बताए । नागरिक समाजका अगुवा प्राध्यापक डाक्टर दीपक शाक्यले कोरोना भाईरस नियन्त्रणमा कोही पनि एक्लै लड्न नसक्ने बताउँदै कोरोनासँग लड्न महानगरपालिकालाई सबैले सहयोग गर्नुपर्ने बताए ।
संकटको घडीमा नागरिकको जीवन रक्षा नै महत्वपूर्ण भएकोले महानगरपालिकाले गरेको सकारात्मक कामको सहयोग र नकारात्मक कामको आलोचना सहित सुधार गर्न नागरिक समाजको पनि महत्वपूर्ण भूमिका रहने बताए ।
अर्का अगुवा सुशील भट्टराईले संघ सरकारले कोरोना नियन्त्रणमा खासै भूमिका नखेलेको बताउँदै प्रदेश सरकारको पनि उपस्थिति नहुँदा नागरिकमा निराशा छाएको बताए । उनले जनताको भोट लिएर जितेका प्रदेशका ८ जना विद्यायक र संघीय संसदमा रहेका ९ जना सांसद सहित १७ जना सांसदहरु पर्साका भएपनि कसैले वीरगंजको नागरिकको विषयमा गम्भीरता नदेखाएकोमा गुनासो गरे ।
नेपाल चिकित्सक संघका केन्द्रीय सचिव डाक्टर निरज सिंहले भौगोलिक रुपमा वीरगंज मुख्य नाका भएकोले यहाँ वीरगंजको मात्रै होईन नेपालभरीका नागरिक आउने भएकोले यो संकटको बेला स्थानीय वीरगंजवासी र अन्य स्थानका नागरिकको जीवन रक्षाका लागि महानगरपालिकाले खेल्नुपर्ने भूमिकामा कुनै कमी नभएको बताए ।
लायन्स क्लब इन्टरनेशनलका पूर्व ईन्टरनेशनल डाईरेक्टर लायन सञ्जय खेतानले कोरोनाले कुनै पेशा, व्यवसाय, धर्म, जात, लिंग र समुदायका व्यक्तिलाई नचिन्ने भएकोले यसमा कुनै वादको आधारमा राजनीति गर्न नहुने बताए ।
उनले वीरगंजलाई सुरक्षित राख्नका लागि लगातार परीक्षणको आवश्यकता रहेको र त्यसका लागि वीरगंजमा ठुलो क्षमताको पिसिआर मेसिनको आवश्यकता रहेको बताए । वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले कोरोना संक्रमणपछि लकडाउनदेखि नै उद्योग वाणिज्य संघ वीरगंज महानगरपालिकाको साथमा रहेकोले आगामी दिनमा अझै पनि आवश्यक सहयोग र सहकार्य निरन्तर रहने बताए ।
वीरगंज बैंकर्स एशोसिएसनका रोशनभक्त श्रेष्ठले वीरगंजमा कोरोना नियन्त्रणकालागि महानगरपालिकाले खरिद गर्न लागेको ठुलो क्षमताको पिसिआर मेसिन खरिदमा साथ र सहयोग रहने बताए ।
नेपाल पत्रकार महासंघका पूर्व मध्यमाञ्चल संयोजक महेश दासले वीरगंज महानगरपालिकाले स्थानीय सरकारको हैसियतले गरेको काम सराहनीय रहेको बताउँदै यो पीडाको अवस्थामा प्रदेश सरकार र संघ सरकारले वीरगंजमा कोरोना विशेष अस्पताल संचालन र व्यवस्थापनमा सहयोग नगरे नागरिक समाज अगाडि आउनुपर्ने आवश्यकता रहेको बताए ।
वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीको अध्यक्षतामा सम्पन्न भएको भेलाले महानगरपालिकाको अभियानमा साथ दिनका लागि विभिन्न पेशा, क्षेत्र, र व्यवसायमा संलग्न नागरिक समाजको समिति गठन गरेको छ ।
प्राध्यापक डाक्टर दीपक शाक्यको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ ।
समितिको सदस्यहरुमा नेपाल बार एशोसिएसनका शालिकराम प्रसाद, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया, बैंकर्स एशोसिएसनका अध्यक्ष रोशनभक्त श्रेष्ठ, रेडक्रसका मन्त्री शैलेन्द्र चौरसिया, सामाजिक संस्थाका तर्फबाट इब्राहिम देवान, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष अनुप तिवारी र अधिवक्ता कमल मोहन पोखरेल रहेका छन् ।