वीरगंज, जेठ १६ । पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिका वडा नं. ४ का गरिब तथा अति बिपन्न घरपरिवारलाई मिथिला वाईल्ड लाइफ ट्रष्ट मिथिला बिहारी न.पा. वडा नं. ३ धनुषाधामले राहत वितरण गरेको छ ।
विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट बच्नका लागि नेपाल सरकारले लकडाउन गरेको छ ।
लकडाउनमा दैनिक मजदुरी गरी खाने गरिब, अति बिपन्न परिवार पूर्णरुपले नराम्ररी प्रभावित भएको अवस्थामा मिथिला वाईल्ड लाइफ ट्रष्टले सामाजिक दुरी कायम गर्दै राहत वितरण गरेको छ ।
दलित अधिकारकर्मी मनोज रामले पकाहामैनपुर गाउँपालिका को वडा नं ४ मुसहर बस्तीको बारेमा मिथिला वाईल्ड लाइफ ट्रष्ट लाई जानकारी गराएपछि ट्रष्टको सहयोगमा राहत वितरण गरिएको हो ।
वडा नं. ४ का वडा अध्यक्ष ढेडी प्रसाद यादवको विशेष उपस्थितिमा खेस्राहा टोलका मुसहर बस्ती, वडाको विभिन्न टोलका गरिब तथा अति बिपन्न ८५ घरपरिवारलाई बिहिवार राहत वितरण गरिएको छ ।
भोजपुरी टाइम्स दैनिक पत्रिका तथा नेपाल युवा परिषद् पर्साको सहकार्यमा वितरण भएको राहतमा चामल, दाल, आलु, प्याज, खाने तेल, नुन, सोयाबिन, नुहाउने साबुन, हरियो तरकारीको प्याकेट प्रत्येक परिवारलाई वितरण गरिएको ट्रष्टका पर्सा प्रतिनिधि श्रवण प्रसाद साहले बताए ।
राहत सामग्री पाउँदा मुसहर बस्तीका स्थानियहरुको मुहारमा खुसी देखिएको छ । हुन त पहिला पनि वडा कार्यालय तथा प्रदेश सरकारले राहत वितरण गरेकै हो तर त्यतिले कति दिनसम्म घर खर्च टार्न सकिन्छ भन्दै स्थानिय श्यामबाबु रामले भने, यस संस्थाले राहत वितरण गरेकोमा धन्यवाद दिदै अझ केही दिनसम्म आफुहरुलाई खान पुग्ने भयो भन्दै खुसी व्यक्त गरेका थिए ।
राहत वितरण कार्यक्रममा भोजपुरी टाइम्स दैनिक पत्रिकाका प्रकाशक अजय कुमार चौरसिया, मिथिला वाइल्ड लाइफ ट्रष्ट बाराका प्रतिनिधि राजेश प्रसाद कुशवाहा, नेपाल युवा परिषद् पर्सा का सचिव मुकेश कुमार चौरसिया, संचारकर्मी बिन्दु भुषण साह, दिपक चौरसिया, रंजित चौरसिया लगायतको सहभागीता रहेको थियो ।