वीरगंज, जेठ १७ । पर्सा प्रहरीको ज्यादतीका कारण वीरगंज महानगरपालिकाको सरसफाई आजबाट ठप्प भएको छ ।
महानगरपालिकाको सरसफाईमा खटिएका कर्मचारीहरुलाई प्रहरीले कुटपिट गरी ज्यादती गर्न थालेपछि त्यसको विरोधमा सफाई कर्मचारीहरुले काम रोकेपछि आजदेखि वीरगंज महानगरपालिकाको फोहोर उठाउने कार्य रोकिएको छ ।
वीरगंज महानगरपालिकाले ठेक्का मार्फत र महानगरपालिकाकै सरसफाई कर्मचारीहरु मार्फत पनि फोहोर उठाउँदै आएकोमा लकडाउनको समयमा सरसफाईमा खटिएका कर्मचारीहरुलाई प्रहरीले कुटपिट र दुर्व्यवहार गर्न थालेपछि उनीहरुले फोहोर उठाउन छोडेका हुन् ।
अस्ती बिहिवार एकजना सरसफाई शाखाका कर्मचारी छोटेलाल प्रसाद कुशवाहालाई प्रहरीले कुटपिट गरी मोटरसाईकल समेत खोसेर दुर्व्यवहार गरेको थियो ।
घटनाको बारेमा पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तसँग गुनासो गर्दा एसपी पन्त उल्टै हाँसेर कुनै जवाफ नदिएपछि कर्मचारीहरु काममा नआएको सरसफाईका ठेकेदार कम्पनी पृथ्वी तारा एनके इन्टरनेशनल जेभीका निर्देशक शिव गुप्ताले बताउनुभयो ।
सफाई कर्मचारी फोहोर उठाउन नआएपछि वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीलाई जानकारी गराएको र मेयर सरावगीले प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्की र एसपी गंगा पन्तसँग समन्वय गरेर फेरी सफाई कर्मचारीहरुलाई काममा फर्काएका थिए । तर, हिजोसाँझ फेरी ठेलामा जम्मा भएको फोहोर ट्रयाक्टरमा हालेर ल्याण्डफिल साईटतिर लिएर जानेक्रममा वीरगंजको माईस्थान नजिकै डिउटीमा खटिएको प्रहरीले सफाई कर्मचारीलाई अवरोध गरेर दुर्व्यवहार गरेपछि आजदेखि सफाई कर्मचारीहरु काममा नआएका कारण महानगरपालिकाको फोहोर उठेको छैन् ।
कोरोनाको महामारीमा पनि ज्यान जोखिममा राखेर सरसफाईमा खटिएका कर्मचारीहरुमाथि प्रहरी प्रशासनले पटक पटक अनावश्यक दुःख दिने गर्दा काम गर्न समस्या भएको ठेकेदार गुप्ताले बताउनुभयो ।
सडकमा डिउटीमा खटिने प्रहरीलाई सरसफाई कर्मचारीको परिचय पत्र देखाएर गृहमन्त्रालयले परिपत्र गरेको कागज देखाउँदा समेत प्रहरीले को हो गृहमन्त्रालय ? हामी मान्दैनौ एसपीले जे आदेश दिन्छ त्यही गर्छाैं भनेर जवाफ दिने गरेको सरसफाई कर्मचारीहरुले बताएका छन् ।
वीरगंज महानगरपालिकाका विजय सरावगीले लकडाउन पालनाको बहानामा प्रहरीले महानगरको सरसफाइमा पटक-पटक अवरोध गर्दै आएको बताए । कोरोनाको महामारीमा ज्यान जोखिममा राखेर काम गर्ने सरसफाइकर्मीलाई प्रहरीले अवरोध र दुर्व्यवहार गरेको चारपटक भइसक्यो’ , उनले भने, ‘सिडिओ र एसपीलाई भन्दाभन्दै म पनि थाकिसकेको छु ।’
प्रहरीले ज्यादती गरेको भन्दै शनिबारदेखि सरसफाइ कर्मचारी काममै आउन नमानेको उनले बताए । शनिबारदेखि महानगरको फोहोर नउठेको भन्दै उनले भने , ‘फोहोर उठेन भने त्यसले नयाँ संक्रमण फैलने खतरा छ तर प्रहरी प्रशासनले कुरो नै बुझ्दैन ।’ हडतालमा बसेका सरसफाइकर्मीलाई काममा फर्काउन प्रयास भइरहेको उनले बताए ।
लकडाउनलाई प्रभावकारी कार्यान्वयन गराउने नाममा ज्यादती गरेको भन्दै प्रहरी प्रशासनको सर्वत्र आलोचनाहरु हुँदै आएको छ । वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले पनि स्थानीय प्रहरी प्रशासनले समन्वयकारी भूमिका निर्वाह नगरेको गुनासो गर्नु भएको छ ।
महानगरपालिकाका सरसफाई कर्मचारीहरुलाई दैनिक जसो प्रहरीले दुःख दिने गरेकोले सरसफाई समेत प्रभावित हुन पुगेको बताउनुभयो ।
अतिआवश्यकीय काममा खटिएका स्वास्थ्यकर्मी, कर्मचारी, सरसफाईकर्मी, खाद्यान्न व्यवसायी, औषधि व्यवसायी र सञ्चारकर्मी मात्रै होईन नागरिक समाजले पनि प्रहरीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
नागरिक समाजले लकडाउन पालनाको नाममा प्रहरी आक्रामक रुपमा प्रस्तुत भई कुटपिटमा उत्रिनु अत्यन्त दुःखद रहेको भन्दै नागरिक समाजले प्रहरीको कार्यशैली सुधार गर्न अनुरोध गरेको छ ।
प्रहरीको कार्यशैलीमा सुधार नआए प्रहरी विरुद्ध नागरिक समाज जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र समेत बुझाउने तयारीमा रहेको नागरिक समाजका एक सदस्यले बताए ।
प्रमुख जिल्ला अधिकारी पनि बाहिरको अवस्था बुझ्न ननिस्किने, प्रहरीले सडकमा नागरिकलाई दुःख दिने गरेको भन्दै नागरिकमैत्री व्यवहार नगरेकोमा नागरिक समाजले दुःख व्यक्त गरेको छ ।