वीरगंज, जेठ १७ । वीरगंजको नागरिक समाजले कोरोना भाइरसको संक्रमणको विरुद्ध सबै तहका सरकारलाई एकिकृत र समन्वयकारीरुपमा काम गर्न आग्रह गरेको छ ।
समाजले पर्साका स्थानीय सरकार प्रमुखहरुसँग कोरोना विरुद्धको यो महामारीमा आफनो नागरिकको जीवनरक्षाकालागि कोरोना अस्पताल संचालनमा योगदान गर्न पनि आग्रह गरेको छ ।
कोरोना भाइरसको संक्रमणका कारण उपचार आवश्यक भएका बिरामीहरुको उपचारकालागि वीरगंजमा देखिएको बहस प्रति नागरिक समाजको तर्फबाट यस्तो गम्भिर चासो व्यक्त गरिएको हो ।
वीरगंज महानगरपालिकाले आफना नागरिकको उपचारकोलागि कोरोना अस्पतालको स्थापना गरेकोमा त्यसको आर्थिक व्यवस्थापनको जिम्मा समेत संघ सरकारले महानगरलाई दिनु न्यायपूर्ण नरहेको नागरिक समाजको निष्कर्ष रहेको छ ।
वीरगंजमा रहेको संघ सरकार मातहतको नारायणी अस्पतालको नाममा संचालन भएको कोरोना अस्पतालको सम्पूर्ण लागत संघ सरकारले व्यहोर्नु पर्ने नागरिक समाजको माँग रहेको छ ।
वीरगंज बाहेक अन्यत्र कोरोना अस्पतालको सम्पूर्ण खर्च संघ सरकारले व्यहोर्दै आएको अवस्थामा वीरगंजमा भने महानगरपालिकाको टाउकोमा व्ययभार थोपार्नु अन्याय भएको नागरिक समाजका अगुवा डा.दीपक शाक्यले बताउनु भयो ।
नेपाल सरकारले कोभिड १९ का सन्दर्भमा विभिन्न निर्देशिकाहरु जारी गरेको छ । त्यस मध्य कोरोना तथा अन्य स्वास्थ्य सेवा प्रवाह सम्बन्धी निर्देशिकाले समेत स्पष्ट रुपमा संघ सरकारले रकम ब्यहोर्ने भनेर बोलेको छ । तर वीरगंज महानगरका प्रमुखले कोरोना अस्पताल संचालनकोलागि लिएको अग्रसरताको परिणाम महानगरपालिकालाई आर्थिक व्यवस्थापनको जिम्मा दिएर दण्डीत गरेजस्तो देखिएको नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य महेश दासले टिप्पणी गर्नु भयो ।
नेपालमा कही नभएको कुरा वीरगंजमा भइरहेकोप्रति उहाँले आश्चर्य व्यक्त गर्दै नागरिक रक्षाको अभियानमा महानगर प्रमुखको सक्रियता प्रशंसनीय भएपनि कतिपयलाई त्यो कुरा चित्त नबुझेको देखिएको बताउनु भयो ।
लेबल २ कोरोना अस्पतालले मध्यम जटिल र अति जटिल केश व्यवस्थापन गर्नुपर्ने अन्तरिम निर्देशिकामा उल्लेख गरिएको छ ।
बाहिरबाट प्रेषण भएर आएका र अस्पतालमै पहिचान भएका मध्यम र जटिल साथै अति जटिल केशहरु हाइडिपेन्डेन्सी र आइसीयु केयर भएका तोकिएका कोरोना अस्पतालले उपचार गर्नुपर्छ ।
यस्तो अवस्थामा वीरगंजले सर्लाही देखी पर्सा सम्मका कोरोना भाइरसको संक्रमणमा परेका नागरिकको उपचार गरेको छ ।
आर्थिक व्यवस्थापनको जिम्मा वीरगंज महानगरपालिकालाई दिएको वर्तमान अवस्थामा नागरिक समाजले पर्सा जिल्लाका स्थानीय सरकारहरुलाई यो उपचार अभियानमा आफनो योगदान दिएर आफना नागरिकप्रतिको दायित्व पुरा गर्न अपिल गरेका हुन ।
दिनप्रतिदिन कोरोना भाइरसको संक्रमणका पुष्टिका खबरहरु सार्वजनिक भइरहेका छन । पोखरिया, पटेर्वा सुगौली, जिराभवानीमा कोरोना संक्रमणका १० वटा घटना पुष्टि भएका छन् ति सबै संक्रमितहरुको उपचारको लागि वीरगंजमा स्थापना गरिएको आइसोलेसन अस्पतालमा ल्याइएको अवस्था छ ।
यस्तोमा संघ वा प्रदेश सरकारले उपचारको रकम ब्यहोर्ने भएको भए समस्या हुँदैन थियो तर वीरगंज महानगरले आर्थिक भार बहन गर्नुपर्दा आफूजस्तै स्थानीय सरकारसँग सहयोगको अपिल गर्नु स्वाभाविक रहेको प्राध्यापक बीरेन्द्र शाहले बताउनु भयो ।
आइसोलेसनको व्यवस्थापन प्रदेश सरकारले गर्नु पर्ने कार्यविधि बनेको छ । प्रदेश सरकारले वीरगंजमा आइसोलेसन अस्पताल बनाउनु भन्दा पनि विभिन्न ठाउँमा रकम बाँडेर तस्विर खिचाउने काममा लागेको नागरिक समाजका अगुवा सुशिल भट्टराइले बताउनु भयो ।
प्रदेश सरकारले नागरिकको रक्षामा सरकार हुनुको कुनै छाप छोड्न नसकेको प्रति वीरगंजको नागरिक समाजले खेद समेत व्यक्त गरेको छ । पढेलेखेका राम्रा मान्छे, यही क्षेत्रको मान्छे मुख्यमंत्री भएकोमा गर्व समेत गरेका थियौं तर नागरिक संकटमा पर्दा आफनै मुख्यमंत्रीको साथ नपाउँदा निकै चित्त दुखेको समाजका एक जना अगुवाले बताएका छन् ।