वीरगंज, जेठ १७ । नारायणीको कोरोना शाखामा उपचारकोलागि भर्ना हुनेहरुलाई अबदेखि वीरगंज महानगरपालिकाले नै खाना खुवाउने भएको छ ।
वीरगंजको नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा उपचाररत कोरोना संक्रमितहरुलाई महानगरपालिका आफैले खाना खुवाउने तय गरेको वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले बताउनुभयो ।
कोरोना भाइरस बाट संक्रमण भएर पत्रकारहरु आइसोलेसनमा गएपछि त्यहाँको सरसफाई र खानाको आपूर्तीमा देखिएका समस्याहरु सार्वजनिक भएका थिए । खाना गुणस्तरीय थिएन् ।
सानो पाइलाले खाना खुवाउने जिम्मेवारी लिएपछि प्रतिरोधात्मक क्षमता बढाउने खालको पौष्टिक आहारको व्यवस्था भएको थियो । सानो पाइलाको यो महत्वपूर्ण योगदानकालागि महानगरप्रमुख सरावगीले धन्यवाद दिनु भएको छ ।
अस्पतालमा उपचाररत संक्रमितहरुलाई विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुरुप खाना खुवाउन महानगरपालिकाले गएको दुई साताअघि नै टेण्डर आह्वान गरेको थियो ।
टेण्डरमार्फत महानगरपालिकाले एउटा निजी कम्पनीलाई खाना खुवाउने जिम्मेवारी दिएको छ ।
अब त्यही कम्पनीले कोरोना संक्रमितहरु देखि अस्पतालमा कार्यरत अन्य केही कर्मचारीहरुलाई समतेलाई खानाको आपूर्ती गर्ने छ ।
शनिवार वीरगंज महानगरपालिकाले खाना खुवाउने जिम्मा एक निजि कम्पनिलाई दिएसँगै नारायणी अस्पतालले सानो पाइलालाई आइतबारदेखि खाना खुवाउन बन्द गर्न भनेको छ ।
नारायणी अस्पतालकाका वरिष्ठ चिकित्सक डा. निरज सिंहले सानो पाइलालाई आइतबारदेखि खाना खुवाउन नपर्ने जानकारी दिनु भएको सानो पाइलाका अध्यक्ष सुदीप लामाले बताउनु भयो ।
‘महानगरपालिका र एउटा निजी कम्पनीबीच सम्झौताले मुर्तरुप लिएपछी हामीले सानो पाइलालाई खाना खुवाउन बन्द गर्न अनुरोध गरेका हौं,’ डा. सिंहले भन्नु भयो, ‘खाना खुवाएर हामीलाई सहयोग गरेकोमा धेरै धेरै धन्यवाद छ, अब महानगरपालिकाले जिम्मा लियो, उहाँहरुले दुःख गर्नु पर्दैन ।’