वीरगन्ज, माघ २७
हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा वीरगंजका नामुद तस्कर मदन गुप्तालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
वीरगन्ज महानगरपालिका वडा नम्बर १० अडिअर्वा निवासी गुप्तालाइ उनकै घरबाट प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन् ।
श्रोत नखुलेको नेपाली साढे पाँच लाख रुपैयाँ सहित हिजो (आइतबार) पक्राउ परेका ५० वर्षीय भारतीय नागरिक सुरेश महत्तोको बयानको आधारमा गुप्तालाई पक्राउ गरिएको उनले बताईन् ।
प्रहरीले सिमावार्ती शहर रक्सौलबाट बिआर ०५ एए ७३१९ नम्बरको भारतीय मोटरसाइकलमा सवार भारत बिहार मोतिहारी जिल्ला पूर्वी चम्पारण रक्सौल टुमरिया टोल बस्ने महत्तोलाई श्रोत नखुलेको लुकाई छिपाई ल्याई रहेको अवस्थामा ५ लाख ५० हजार सहित पक्राउ गरेको थियो । हुण्डी रकम सहित पक्राउ परेका भारतीय नागरिक महत्तोको साथबाट मदन गुप्ता कलवारको फोन नम्बर लेखिएको चिट फेला पर्यो, महत्तोले पनि हुण्डीको रकम गुप्ताले नै मगाएको बयान दिए', प्रहरी उपरीक्षक पन्तले भनिन्,‘ त्यसकै आधारमा गुप्तालाई पनि नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेका गुप्ता भारतीय नागरिक हुन् ।
पक्राउ परेका गुप्ताले २०६३ सालमा जन्मको आधारमा नेपाली नागरिकता समेत लिएका छन् ।
गुप्ता पर्सा जिल्लाको चर्चित तस्करको रुपमा पनि प्रख्यात छन् । उनलाई रुन्चे मदन भनेर पनि चिन्ने गरिन्छ ।
उनले विगत लामो समयदेखि सिमावर्ती शहर भारतबाट तस्करी मार्फत भित्रयाएको लत्ताकपडा, हार्डवेयर, मोटरपार्टस लगायतको मालसामान प्रहरीकै मिलोमतोमा आफैले संचालन गरेको गढीमाई र महाशक्ति ट्रान्सपोर्ट मार्फत नेपालको विभिन्न शहरहरुमा पठाउँदै आएका छन् ।