वीरगंज, १८ जेठ । वीरगन्जस्थित नारायणी अस्पताल कोरोना मुक्त भएसँगै आजबाट डायलासिस सेवा शुरु भएको छ ।
विगत एक साता अगाडी नारायणी अस्पतालमा रहेका सम्पूर्ण कोरोना संक्रमित डिस्चार्ज भएसँगै अस्पताललाई सेनेटाईज गरि पूर्ण रुपमा विसंक्रमित तथा निर्मलीकरण गरिएसँगै आजबाट बहरिंग सेवा अन्तरगत डायलासिस सेवा शुरु गरिएको हो ।
अस्पतालले आज एक प्रेस विज्ञप्ति जारी गर्दै गत बैशाख २ गतेबाट अवरुद्ध भएको डायलासिस सेवा सुचारु गरिएको जनाएको छ । यसैगरि अस्पतालले ओपिडी अर्थात बहिरंग सेवा पनि क्रमिक रुपमा संचालन गर्ने जनाएको छ ।
सामाजिक दुरी कायम गरी पहिलो चरणमा हरेक विभागमा बढीमा २५ जना मात्र बिरामीको उपचार हुनेगरी बहिरंग सेवा सन्चालन गरिने नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिनुभयो ।
विगतमा संक्रमितको उपचार हुँदै आएको नारायणी अस्पताल कोरोनाबाट साधारण अस्पतालमा परिणत भएको नेपालकै पहिलो अस्पताल हुन पुगेको मेडिकल सुपरिटेन्डेन्ट डा. उपाध्यायले दाबी गर्नुभयो ।
अस्पतालमा साधारण सेवाहरु सन्चालनका लागि अझै पनि आवश्यक सरसफाई, निर्मलीकरण र अन्य आवश्यक कार्यहरु तीब्र रुपमा भइरहेको डा. उपाध्यायले बताउनुभयो ।
अस्पतालले प्रदान गर्ने प्रसुति, सर्जन, लगायतका सेवाहरु सुचारु हुन अझै केही समय लाग्ने र आकस्मिक सेवा पछि उपचारका लागि अस्पतालमा भर्ना हुनका लागि अझै केही दिन लाग्ने हुँदा विरामीहरुलाई भर्नाका लागि बाहिर पठाउनु पर्ने बाध्यता रहेको डा. उपाध्यायले बताउनु भयो ।