वीरगंज, जेठ १८ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले पर्सा जिल्लाको ठोरी गाउँपालिका वडा नं. २ को ठुटेखोला स्थित नेपाल भारत सिमामा भारतीय सुरक्षाकर्मीहरुको सहयोगमा भारतीयहरुले नेपाली भुमीमा गरेको हस्तक्षेप र अनाधिकृत उपयोग गर्न खोजेको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको छ ।
कांग्रेस नेता रिजालले आज एक प्रेस विज्ञप्ती जारी गर्दै सो क्षेत्रमा दशकौंदेखि भारतीयहरुले नेपाली भुमीलाई बिवादित बनाई विद्युत लाईन बिस्तार, पुल निर्माण जस्ता विकास निर्माणका कार्यहरुमा समेत अवरोध गर्दै सिमा अतिक्रमण गर्ने प्रयासलाई ठोरीवासीले असफल बनाएकोमा आफु गौरवान्वित भएको बताउनु भएको छ ।
वर्तमान समयमा ठोरी स्थित नेपाल भारतको सिमा छुट्याई सिमास्तम्भ समेत कायम भईसकेको अवस्थामा नेपाली भुमिमा आई ठोरीवासीको विकासको आधारको रुपमा रहेको खानेपानी, बिजुली, ठुटेखोला पुल र यातायातलाई समेत असर पुर्याउने गरि अनाधिकृत रुपमा भारतीय सुरक्षाकर्मीहरुले भारतीय नागरिकलाई उक्साई नेपाली भुमिमा कुलो खन्ने कार्य गराएको प्रति घोर भर्त्सना गर्नुभएको छ ।

नेपाल सरकार तथा स्थानिय प्रशासनले नेपाली भुमी सुरक्षाको जिम्मेवारी निर्वाह नगरेको अवस्थामा शालिनतापुर्वक मातृभुमी सुरक्षाका लागी आवाज उठाउँदा नेपाल सरकार तथा स्थानिय प्रशासनले मनोबल गिराउँदै भारतीय पक्षहरुकै वकालत गर्ने जस्ता कार्यहरु भएकोमा त्यसको चर्को आलोचना गर्नुभएको छ ।
भारतीय पक्षले नेपाली भुमीमा रहेको जलश्रोतलाई अतिक्रमण गर्न ठोरीवासीको भौतिक पुर्वाधार अवरुद्ध बनाउने जस्ता कार्यलाई अबिलम्ब रोकी नेपाली भुमी र आम नागरिकको सुरक्षाको समुचित व्यवस्था गर्दै बिवाद समाधान तर्फ ठोस एवं प्रभावकारी कदम चाल्न नेपाल सरकार तथा जिल्ला प्रशासन कार्यालय पर्सासँग माग समेत गर्नु भएको छ । साथै सिमा अतिक्रमणलाई रोक्न शालिनतापुर्वक विरोध गर्न समेत ठोरीवासीहरुमा हार्दिक अपिल गर्नुभएको छ ।
