काठमाडौं । धावनमार्ग निर्माणका काम सम्पन्न भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारी तिव्र पारिएको छ ।
कोरोना संक्रमण रोकथामका लागि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु बन्द रहेको अवस्थामा धावनमार्ग निर्माणको काम सकिएको हो ।
लामो समयदेखि विभिन्न कारणले धावनमार्ग निर्माणको काम सुचारु हुन नसकेपनि उडानहरु प्रतिबन्ध भएपछि कामले तिब्रता पाएको हो ।
विमानस्थलको दक्षिणतर्फ ३ सय मिटरको धावनमार्ग निर्माण गरिएको छ । धावनमार्ग विस्तारपछि सञ्चालनको तयारी तिव्र पारिएको छ ।
कोरोना महामारीले विश्व प्रभावित भइरहेको बेला सामाजिक दुरी कायम गर्दै विमानस्थल सञ्चालनको तयारी भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बताए ।
विभिन्न देशमा अलपत्र नागरिकहरुलाई स्वदेश ल्याउन तयारी भइरहेको उनले बताए । सरकारले सञ्चालनको सूचना जारी नगर्दासम्म सम्पूर्ण स्रोत साधन प्रयोग गरेर सञ्चालनको तयारी भइरहेको उनले बताए । विमानस्थलमा सामाजिक दुरी कायम गरी स्यानिटाइर र मास्क प्रयोग अनिवार्य गरिएको छ ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संठघनले लामो समयदेखि धावन मार्ग विस्तारका लागि पट पटक दबाव दिँदै आएको थियो । तर विमानस्थल बन्द गरेर काम गर्न सक्ने अवस्था नभएपछि निर्माण हुन सकेको थिएन् ।
पछिल्लो समय लक डाउन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानहरु बन्द भएपछि छोटो समयमै धावनमार्ग विस्तारको काम सम्पन्न भएको हो । विमास्थलमा अब एप्रोच लाइट जडानको काम मात्रै बाँकी रहेको छ ।
लक डाउनका कारण विदेशबाट सामान ल्याउन नसकिएकाले लाइट जडानको काम थाँती रहेको उनले बताए ।
अब विमानस्थलमा एक अर्को यात्रु कम्तीमा एक मिटरको दूरीमै उभिनुपर्नेछ । कर्मचारी र यात्रुबीच भौतिक रुपमा पनि उत्तिकै दूरी कायम हुनेछ । यसले कोरोनाको त्रास कम नभएसम्म हवाई यात्रुको समय भने बढाउने भएको छ ।
अन्तर्राष्ट्रिय उडानमा अब साबिकको तुलनामा कम्तीमा एक घण्टा अगाडि नै विमानस्थल पुग्नुपर्ने अवस्था आएको छ ।
विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले अब विमानस्थल सुरक्षा प्रबन्ध कायम गरी उडान सञ्चालनका लागि तयार भएको जानकारी दिए । लकडाउन र व्यवसायिक उडान प्रतिबन्धका बीच पनि यस विमानस्थलबाट ६ हजारभन्दा बढी मानिसले यात्रा गरिसकेका छन् ।
सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउन तयारी गरिरहेको छ । यसअवस्थामा विमानस्थल व्यवस्थापन अर्को चूनौतीपूर्ण क्षेत्र हो ।