वीरगंज, जेठ १९ । सत्तारुढ पार्टीकै जनप्रतिनिधि अहिले जितपुर सिमरा क्षेत्रका उद्योग संचालनको बाधक बनेका छन् । नेकपाबाट निर्वाचित जितपुर सिमरा वडा न ५ का वडा अध्यक्ष मोहीत चौधरीले लकडाउनको बेला जनसरकार प्रमुख जस्तै उद्योगहरुमा अनाधिकृत रुपमा पसेर उद्योग बन्द गर्न ठाडो निर्देशन दिने गरेका छन् ।
जितपुर बकुलिया क्षेत्रमा रहेका उद्योगहरुसित विभिन्न बहानामा चन्दा सहयोग माग्ने, उद्योगले चन्दा नदिए उद्योग भित्र केही स्थानियहरुलाई लिएर स्वयं भित्र पसी मापदण्ड अनुसार नचलेको, स्वाब टेष्ट नगराएको, क्वारेन्टाइन नभएको, क्षमता भन्दा बढि लोड गरेको, राति गाडि किन ल्याएको भन्दै कारखाना बन्द गर्न निर्देशन दिने गरेको साथै अटेर गरे ठिक नहुने चेतावनी समेत दिने गरेका छन् ।
वडा अध्यक्ष चौधरी गत शनिवार सोही वडामा रहेको अम्बर ग्यास र अशोक स्टिल कारखाना भित्र पुगेर बन्द गराउन निर्देशन दिएको चौधरी आफैले समाजिक सन्जाल फेसबुकमा स्ट्याटस लेखेर स्वीकार गरेका छन् ।
यसैगरी शनिवार राती सिमेन्टको कच्चा पदार्थ लिएर उद्योगमा पुग्न लागेको ट्रक नियन्त्रणमा लिएर अवरोध सिर्जना गरेका छन् । मापदण्ड विपरीत क्षमता भन्दा बढि लोड गरेको र चोरी छिपी आएको भन्दै ट्रक नियन्त्रणमा लिएका थिए । सो कुरा पनि फेरी फेसबुकमा लेखेका छन् ।
उद्योगका अनुसार ट्रक क्षमता भन्दा बढि लोड गरिएको थिएन फेरी त्यो हेर्ने र नियन्त्रणमा लिने अधिकार प्रहरीको हो की वडा अध्यक्षको प्रतिप्रश्न गर्दै एडभान्स सिमेन्टका प्रबन्धक हरिशंकरलाल कर्णले ट्रकमा लोड गरिएको कच्चा पदार्थ भन्सार शुल्क तिरेर ल्याएको प्रस्ट पार्नु भयो ।
प्रबन्धक कर्णले वडा अध्यक्ष चौधरीसहित २०–२५ जनाले राति कच्चा पदार्थ लोड गरिएको ट्रकलाई नियन्त्रणमा लिएर कर्मचारी र ट्रक चालकलाइ कुटपिट गर्दै निजहरु सित रहेको २ लाख बढी रुपैया पनि खोसेर लगेको आरोप लगाउनु भयो । ‘शनिवार राति भएको घटना बारे हामी जाहेरी लिएर आइतवार इलाका प्रहरी कार्यालय सिमरा पुगेका थियौं तर प्रहरीले जाहेरी दर्ता गर्न नमाने पछि आज हुलाक मार्फत रजिष्ट्ररी गरेका छौं’, प्रबन्धक हरिशंकरलाल कर्णले बताउनु भयो ।