वीरगंज, जेठ १९ । नेपाल पत्रकार महासंघ पर्सा शाखाको कार्यसमिति बैठक आज सम्पन्न भएको छ । महासंघको सभाहलमा बसेको बैठकले पत्रकार तिवारी यादवमाथि भएको दुर्व्यवहारको घटनामा दोषी प्रहरीलाई हालसम्म पनि कार्वाही नगरिएकाले थप आन्दोलनको कार्यक्रम तय गरेको छ ।
बैठकले विरोधको कार्यक्रम सार्वजनिक गर्दै एकसाता सम्म पर्सा प्रहरी विरुद्ध आ–आफ्नो सञ्चारसंस्थाबाट विरोधका नारा सहितको प्लेकार्ड राखी प्रदर्शन गर्ने । जसमा जेठ २० र २१ गते ‘पत्रकारसँग दुर्व्यवहार गर्ने प्रहरीलाई कार्वाही गर’ २२ र २३ गते ‘लक डाउनको नाममा प्रहरी दमन बन्द गर’ २४ र २५ गते ‘प्रहरी मेरो साथी नारामा मात्र हैन् व्यवहारमा पनि लागु गर’ त्यसैगरी २६ गते आ–आफ्नो हातमा कालो पट्टी बाँधेर विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।
यसैगरी महासंघले पर्सा प्रहरीको ज्यादतीबाट विभिन्न पेशाकर्मी, संघसंगठन समेत पिडित बनेकाले प्रहरीको अलोकतान्त्रिक कृयाकलाप निरुतसाहित गर्न संयुक्त रुपमा छलफल तथा खबरदारी गर्ने निर्णय गरेको हो ।
लकडाउनको असहज परिस्थितिमा समस्यामा परेका सञ्चारकमीलाई राहत सामग्री समेत उपलब्ध गराउने र सञ्चारकर्मीहरुको कोरोना बिमा अन्तिम चरणमा पुगेको विषयमा समेत निर्णय गरिएको जनाइएको छ ।
नेपाल पत्रकार महासंघ पर्साका कार्यवाहक अध्यक्ष अनुप तिवारीको सभापतित्वमा सम्पन्न भएको बैठकमा सहसचिव निलिमा पौडेल, आरके पटेल, कोषाध्यक्ष भुषण यादव, सदस्यहरु संजिव मिश्रा, सुष्मा शर्मा, जियालाल साह, मनोज पटेल, प्रणय साह, अमित अग्रवाल, पुष्पराज शर्मा लगायतको उपस्थिति रहेको थियो ।
