वीरगंज र पर्सा जिल्ला कोरोना संक्रमित रेड जोनमा परेको छ । यसको अर्थ यहाँ कोरोना संक्रमणको तेश्रो चरण अर्थात समाजिकरणको चरणमा प्रवेश गरिसकेको छ । यो अवस्था अति नै संक्रमित अवस्था हो, यसबेला कोरोना तिब्र गतिमा बढीरहेको हुन्छ, तपाई हामी निरै हुन्छ हामी चिन्न पनि सक्दैनौ ।
यसैले वीरगंज र पर्सा जिल्लामै थुप्रै संक्रमित हुनसक्ने सम्भावना रहेको छ । समयमै पहिचान र उपचार गर्न नसके यसले महामारीको रूप लिने डर हुन्छ ।
यसकारण कोरोना संक्रमित थाहा पाउन र उपचार र नियन्त्रणको लागि समयमै बढि भन्दा बढि कन्ट्याक्ट ट्रेसिङ्ग र टेस्टिङ्ग गर्नु अति आवश्यक देखिन्छ ।
यसको लागि बढी छमता भएको पिसिआर मेसिन र टेस्टिङ्ग किट्सको आवश्यकता हुन्छ, जुन वीरगंज पर्सामा अति न्युन मात्रामा भएको हुनाले यसको टेस्टिङ्ग पनि सार्है कछुवा गतिमा भइरहेको छ र हामीले संक्रमितहरुको पहिचान गर्न सकिरहेका छैनौं ।
त्यसैकारणले अहिले हामी सबै उच्च जोखिममा रहेका छौं । यसको नियन्त्रण र उपचारको व्यवस्थापनमा पनि कमजोर देखिएका छौं ।
यस अवस्थालाई नै आत्मबोध र दृष्टिगत गरी वीरगंज महानगरपालिकाले बढी छमता भएको पिसिआर मेसिन र टेस्टिङ्ग किट्सहरु खरिद गर्ने निर्णय गरेको होला । यो निर्णय अति नै आवश्यक र स्वागतयोग्य छ ।
अब प्रश्न उठ्छ वीरगंज महानगरपालिकाले खरिद गर्ने मेसिनबाट महानगरपालिकाका वडावासीहरुले मात्र सेवा प्राप्त गर्ने की पर्सा जिल्लावासीले पनि सेवा पाउने ? यस्तो मानविय संवेदनाको बेला यस्तो तुच्छ प्रश्न आउनु नपर्ने हो, सेवा उपचारको सिमाना र सिमितता हुँदैन, क्षमताको हुनसक्छ । यसर्थ यो सेवा जिल्लामा मात्र होइन प्रदेश, राज्य र जो जहाँको भएपनि सबैलाई आवश्यकता परेको बेला सरल र सुलभ ढङ्गले सेवा प्रदान गर्न जरुरी हुन्छ र दिनु पनि पर्छ ।
टेस्टिङ्गपछि संक्रमितहरुको संख्या बढ्न सक्ने हुनाले सोही अनुरूप वीरगंज र पर्सा जिल्लामा स्थित कोरोना अस्पतालको क्षमता बृद्धि, भेन्टिलेटरको संख्यामा बृद्धि, व्यवस्थित क्वारेनटाइनको क्ष्मता बृद्धि, स्तरीय भोजन र बसोबासको व्यवस्था तथा कोरोना संक्रमितहरुको सेवामा समर्पित चिकित्सकहरुको क्वारेनटाइनमा खाने बस्ने व्यवस्थापन, लकडाउनको समयावधि बढ्दै गएकोले दैनिक ज्यालादारी मजदुर, गरिब असहाय, दुःखीहरुलाई राहतको व्यवस्थापन गर्न जरुरी हुन्छ ।
यस स्थितिमा सांसद, प्रदेश सरकार, महानगरपालिका, नगरपालिका, प्रशासन, नागरिक समाजका अगुवाहरू कोहिले पनि एक्लै गर्छु भनेर सम्भव हुँदैन तर सबैको साझा सहयोग, सहकार्य, सहमति, सद्भाव, समन्वय र समझदारीले सेवा प्रदान गर्ने हो भने यो असम्भव पनि छैन् ।
यसर्थ यस्तो संकटको घडीमा आ–आफ्नो अहम् त्यागेर, असमझदारी मेटाएर संघिय सरकारको सहयोगमा प्रदेश सरकारको अभिभावकत्वमा यस जिल्लाको संघिय सांसद, प्रदेश सांसद, जिल्ला समन्वय समिति, महानगरपालिका, नगरपालिकाहरु सबै राजनीतिक दलहरु, सम्बन्धित निकायहरु बसेर छलफल गरी सहयोग र संचालनको लागि संयन्त्र गठन गरि महानगरपालिकाको अगुवाइमा सबैले आ–आफ्नो जिम्मेवारीपुर्वक सहयोग गरी माथि उल्लेखित सबै सेवाहरू संचालन, व्यवस्थापन र नियन्त्रण गर्नु आजको आवश्यकता हो ।
साथै लकडाउनको समय अवधि बढाउने मात्र होइन की यस अवधिमा एक्टिभ र प्रोएक्टिभ भै अत्यन्त महत्वपूर्ण जरुरी बजार, स्कूल, कलेज, व्यापार व्यवसाय, उद्योग धन्दा, कृषि व्यापार, यातायात, बैंक, सहकारी, संघसंस्थाहरुलाई व्यवस्थित रुपमा संचालन गर्ने सहज वातावरणको सिर्जना गर्नु जरुरी देखिन्छ ।
कोरोनाको कहरबाट समयमै पाठ नसिक्ने हो भने यसको हामीले ठुलो मुल्य चुकाउन पनि तयार भएर बस्नु पर्छ ।
अन्त्यमा सबै जिम्मेवार नेतृत्वदायी निकायहरूलाई फुटेर होइन जुटेर अगाडि बढौं, कोरोना माथि विजय प्राप्त गरौं भन्ने अनुरोध तथा शुभेच्छा ।
(डा. शाक्य वीरगंजका नागरिक अगुवा हुनुहुन्छ , यो सामग्री वहाँको फेसबुक पेजबाट साभार गरिएको हो )