वीरगंज, जेठ २० । पिसि मिडिया प्रा.लि.द्वारा संचालित रेडियो सान्भी र साझा डेलि डटकमले वीरगंज महानगरपालिकाले कोरोना भाइरस विरुद्धको लडाईमा आब्हान गरेको कोरोना विपद् कोषमा रु. २५ हजार सहयोग उपलब्ध गराएको छ ।
आफ्नो सामाजिक उत्तरदायित्वलाई वहन गर्दै रेडियो सान्भी र साझा डेलि डटकमले महानगरको विपद् कोषमा नगद २५ हजार रुपैयाँ उपलब्ध गराएको हो ।
महानगरपालिकाले चालेको कदममा हातेमालो गर्न आफूहरुले सञ्चालन गरेको रेडियो र अनलाईनको तर्फबाट थोरै भए पनि सहयोग उपलब्ध गराएको रेडियोका प्रबन्धक नवराज फुयाँलले बताउनुभयो ।
प्रबन्धक फुयाँलले वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीलाई आज उनको कार्यकक्षमै पुगेर नगद हस्तान्तरण गर्नु भएको हो ।
सो अवसरमा रेडियोको तर्फबाट हेमन्त तामाङ्ग, आशु सर्राफ, आबिद हुसैन, वीरगंज महानगरपालिकाका प्रेस सल्लाहकार गोविन्द देवकोटा लगायतको समेत सहभागिता रहेको थियो ।
वीरगंज महानगरपालिकाले पिसिआर मेसिन, भीटीएम किट, रिएजेन्ट किट, प्रि–आइसोलेसन र कोरोना विशेष अस्पताल सञ्चालनको लागि पर्सामा भएका सम्पूर्ण पालिका र विभिन्न संघ संस्थाहरुसँग सहयोगको अपिल गरेको थियो ।