वीरगंज– बारा जिल्लाको करैया माई गाउँपालिका वडा नं. ८ तथा कलैया उपमहानगरपालिका वडा न. १६ का गरिब तथा अतिबिपन्न घरपरिवारलाई मिथिला वाईल्ड लाईफ ट्रष्ट र मिथिला बिहारी न.पा. वडा नं. ३ धनुषाधामले राहत वितरण गरेको छ ।
विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट बच्नका लागि नेपाल सरकारले लकडाउन गरेको छ ।
लकडाउनमा दैनिक मजदुरी गरी खाने गरिब, अतिबिपन्न परिवार पूर्णरुपले नराम्ररी प्रभावित भएको अवस्थामा मिथिला वाईल्ड लाइफ ट्रष्टले सामाजिक दुरी कायम गर्दै राहत वितरण गरेको छ ।
करैयामाई गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष सुरेन्द्र साहको विशेष उपस्थितिमा बेलाही टोलका गरिब तथा अतिबिपन्न ४८ घरपरिवारलाई र कलैया उपमहानगरपालिका वडा नं. १६ का स्थानीय युवा समाजसेवी अनिल कुमार कुशवाहाको नेतृत्वमा मझौलिया टोल का ५९ घर परिवारलाई मंगलवार राहत वितरण सम्पन्न भएको छ ।
नेपाल युवा परिषद बारा, भोर संस्था र भोजपुरी टाइम्स दैनिकको सहकार्यमा वितरण भएको राहतमा चामल, दाल, आलु, प्याज, खाने तेल, नुन, सोयाबिन, नुहाउने साबुन, हरियो तरकारीको प्याकेट प्रत्येक परिवारलई वितरण गरिएको ट्रष्ट बाराका प्रतिनिधि राजेश प्रसाद कुशवाहाले बताए ।
राहत सामग्री पाउँदा सो टोलका स्थानियहरुको मुहारमा खुशी देखिएको छ, हुन त पहिलापनि वडा कार्यालय तथा प्रदेश सरकारबाट राहत वितरण गरिएकै हो तर त्यतिले कति दिनसम्म घर खर्च टार्न सकिन्छ भन्दै स्थानिय बिगा रामले यस संस्थाले राहत वितरण गरेकोमा धन्यवाद दिँदै अझ केही दिनसम्म आफुहरुलाई खान पुग्ने भयो भन्दै खुसी व्यक्त गरेका थिए ।
राहत वितरण कार्यक्रममा भोजपुरी टाइम्स दैनिक पत्रिकाका प्रकाशक अजय कुमार चौरसिया, मिथिला वाइल्ड लाईफ ट्रष्ट पर्साका प्रतिनिधि श्रवण प्रसाद साह, नेपाल युवा परिषद् बाराका सचिव दिवाकर प्रसाद कलवार, संचारकर्मी दिपक चौरसिया र रंजित चौरसिया लगायतको सहभागीता रहेको थियो ।