काठमाडौं, जेठ २१ । आन्तरिक राजश्व विभागले कर तिर्नुपर्ने समयसीमा सारेको छ। यसअघि विभागले जेठ २५ गतेभित्र चैतसम्म बुझाउनु पर्ने सबै कर बुझाउन सूचना जारी गरेको थियो ।
लकडाउनका बेला कर बुझाउन ताकेता गरेको भन्दै उक्त कदमको चौतर्फी विरोध भएपछि सरकारले समय सारेको हो ।
विभागले बुधबार अर्को सूचना जारी गर्दै मूल्यअभिवृद्धि कर र अन्त:शुल्क असार ७ गतेसम्म बुझाउनु पर्ने र आयकरको दोस्रो किस्ता असार १५ सम्म बुझाइसक्नुपर्ने व्यवस्था गरेको छ। उक्त मितिमा कर नबुझाएमा ब्याज तथा थप जरिवाना लाग्नेछ ।
सरकारले लकडाउनका कारण चैत २५ देखि समयसीमा सार्दै आएको थियो ।
नयाँ थपिएको समयभित्र व्यवसायीहरुले २०७६ को माघ,फागुन चैत र २०७७ को वैशाखको मूल्य अभिबृद्धि करको विवरणअनुसार कर बुझाउनु पर्नेछ ।
त्यस्तै अन्त:शुल्क २०७६ को फागुन,चैत र २०७७ को वैशाखको विवरण र सोही विवरणअनुसारको कर असार ७ भित्रै बुजाउनुपर्ने छ।
आयकरको विवरण तथा कर बुझाउने समयसीमा भने दुई प्रकारको तोकिएको छ। गएको फागुन,चैत र वैशाख महिनाको बुझाउनुपर्ने अग्रिम कर कट्टीको विवरण तथा असुलीको विवरणअनुसारको कर असार ७ गतेभित्रै बुझाउनुपर्ने छ ।
त्यस्तै चैत महिनाभित्रै बुझाउनुपर्ने चालु वर्षको संसोधित अनुमानित आयकरको दोस्रो किस्ता बापतको रकम भने असार १५ भित्र बुझाउनु पर्ने छ ।
गएको फागुन, चैत र वैशाखको शिक्षा सेवा शुल्क, दुर सञ्चार सेवा दस्तुर, टेलिफोन स्वामित्व शुल्क पनि असार ७ भित्रै बुझाउनुपर्ने छ ।