वीरगंज, जेठ २१ । सरकारले जेठ २५ गते भित्र कर नतिरे जरिवाना लिने सूचना जारी गरेपछि यसको चौतर्फी विरोध शुरु भएको छ ।
वीरगंजमा सत्तारुढ दल नेकपाकै महानगर कमिटीले अर्थमन्त्री युवराज खतिवडाको विरोध गर्दै सडकमा अर्धनग्न भइ प्रदर्शन गरेका छन् ।
पानी परेको बेला पनि भिज्दै उनीहरुले आ–आफनो कपडा खोलेर अर्धनग्न भइ विरोध प्रदर्शन गरेका हुन् ।
नेकपाका वीरगंज महानगर कमिटी अध्यक्ष रहबर अन्सारीको नेतृत्वमा घण्टाघर चोकमा भेला भएका युवाहरुले जनता भोका भएका बेला सरकारले कर तिर्ने समय तोकेर नागरिकको ढाड सेक्ने काम गरेको आरोप लगए ।
उनीहरुले जनता भोका छन्, चुल्हो निभेको छ, अर्थमन्त्री मुर्दाबाद, बैंक ब्याज मिनाहा गर, सम्पूर्ण कर मिनाहा गर, डुबन्ते अर्थमन्त्री चाहिँदैन लगायतका नारा अंकित प्लेकार्ड सहित प्रदर्शन गरेका थिए ।
अर्थमन्त्री डा.युवराज खतिवडाको निर्देशनमा आन्तरिक राजश्व विभागले यही जेठ २५ गतेभित्र कर नतिरे जरिवाना गर्ने सूचना जारी गरेको थियो ।
यसको चौतर्फी विरोध हुन थालेपछि सरकारले कर तिर्ने समय थप गरेको छ । बुधवार दिउँसो आन्तरिक राजश्व विभागले कर बुझाउने म्याद असार ७ गतेसम्मका लागि थप गरेको नयाँ सूचना जारी गरिसकेको छ ।
सरकारले दुई महिनाभन्दा बढी समयदेखि नागरिकलाई घरभित्रै थुनेर अहिले कर तिर्न उर्दी जारी गर्नु उचित नभएको भन्दै सर्वत्र विरोध शुरु भएको छ ।