काठमाडौं, माघ २८
सरकारले ठाकुर ज्ञवालीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको छ ।
मंगलबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई आईजीपीमा नियुक्त गरेको हो ।
सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ज्ञवालीलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय भएको बताए ।
प्रहरी नियमावलीको परिच्छेद ४ को बढुवा सम्बन्धी व्यवस्थाको दफा ४१ अनुसार ज्ञवालीको बढुवा गरिएको हो ।
प्रहरी नायब महानिरीक्षक मध्येबाट ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता लगायतका आधारमा उनी बढुवा भएका हुन् ।
हाल प्रहरी नायब महानिरीक्षकका रुपमा ज्ञवाली प्रदेश नं. १ प्रहरी प्रमुखका रुपमा कार्यरत् थिए ।
निवर्तमान आईजीपी सर्वेन्द्र खनालसहित तीन एआईजी र उनका ब्याचका डीआईजीहरुले सेवाहदका कारण मंगलबारबाट अवकाश पाउँदैछन् । यही ब्याचको वैकल्पिक टोलीमा डीआईजी हुन्, ज्ञवाली ।
उनीसँगै तारिणीप्रसाद लम्साल पनि प्रहरीको नेतृत्व गर्ने दौडमा थिए । ३० वर्षे सेवा अवधिको प्रावधान कायमै रहे ज्ञवालीले ५ महिनाका लागि प्रहरी संगठन हाक्नेछन् ।