वीरगंज, जेठ २२ । वीरगंज महानगरपालिकाले कोरोना परीक्षण मेसिन (पिसिआर) खरिदका लागि टेण्डर आह्वान गरेको छ । मेसिन खरिदका लागि टेण्डर आह्वान गरेसँगै कोरोना भाईरस संक्रमण रोकथाम र नियन्त्रणका लागि वीरगंज महानरगपालिकाको अभियान सफल हुँदै गएको छ ।
वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले वीरगंजलाई कोरोना भाइरस संक्रमणबाट सुरक्षित राख्न खेल्नु भएको सक्रिय भूमिकाले अन्ततः सार्थकता पाउने भएको छ ।
वीरगंजमा कोरोना संक्रमितहरु बढ्दै जानेक्रम र भारतबाट नेपालीहरु वीरगंज नाकाबाट आउने क्रमपनि शुरु भएपछि निकै जोखिममा रहेको वीरगंज महानगरपालिकावासीलाई कोरोनाको संक्रमणबाट सुरक्षित राख्न अधिकतम परीक्षण आवश्यक रहेको र त्यसको लागि पिसिआर मेसिन खरिद गर्ने अभियान नै शुरु गरिएको थियो ।
यो अभियानमा निजीक्षेत्र, विभिन्न संघसंस्थान र नागरिक समाजको पनि साथ पाएको महानगरपालिकाले बिहीबार बोलपत्र आह्वान गर्ने निर्णय गरेको छ । महानगरपालिकाले पिसिआर मेसिन खरिद गर्नका लागि इच्छुक व्यक्ति वा संस्थाहरुलाई पाँचदिन भित्र बोलबत्र खरिद गर्न समय तोकेको छ ।
मेयर विजय सरावगीले भन्नुभयो, ‘सबैको साथ र सहयोगले मेसिन खरिदका लागि टेण्डर आह्वान गर्ने निर्णय गरेका छौं । अब आफ्नै मेसिन आउने भएपछि पर्साका सबै जनताको यहि पिसिआर मेसिनले कोरोना परीक्षण गरिनेछ ।’ परीक्षण हुन नपाउँदा वीरगंजमा कोरोनाको जोखिम बढेको भन्दै शुरुवाती दिनदेखि नै मेयर सरावगीले कम्तीमा पनि पाँच हजार जनाको परीक्षण गर्नुपर्ने बताउँदै आउनु भएको थियो ।
अब मेसिन आएपछि सबैले परीक्षण गर्न पाउने उहाँले बताउनुभयो । यसले कोरोना भाईरसबाट वीरगंजलाई मात्रै होईन पर्सा जिल्लालाई नै सुरक्षित गर्न सकिने उहाँले बताउनुभयो ।
पिसिआर मेसिन खरिदका लागि महानगरपालिकाले गरेको निर्णयको नागरिक समाजले पनि स्वागत गरेको छ । नागरिक समाजका अगुवा प्राध्यापक डाक्टर दीपक शाक्यले वीरगंज महानगरपालिकाले गरेको निर्णयलाई सकारात्मक रुपमा लिनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘संक्रमितहरु बढ्दै गएकोले पिसिआर मेसिन आवश्यक नै थियो । संक्रमणको तेश्रो चरणमा प्रवेश गरिसकेकोले अब सामूहिक परीक्षणको आवश्यकता भईसक्यो । नारायणी अस्पतालमा राखिएको पिसिआर मेसिनको क्षमताले मात्रै पुग्दैन । महानगरपालिकाले आफ्नै परीक्षण मेसिन राख्नु हाम्रो लागि राम्रो हो । महानगरपालिकाले दूरगामी सोच राखेर मेशिन खरिद गर्न खोजेको स्वागत योग्य छ । यसलाई हामी सबैले सकारात्मक रुपमा नै लिनुपर्छ ।’
वीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष सुबोध गुप्ताले पनि महानगरपालिकाको निर्णय प्रशंसनीय रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘वीरगंज कोरोनाको हटस्पट नै बन्यो । हामीले संघ र प्रदेश सरकारलाई तीब्र गतिमा स्वाब टेष्ट हुनुपर्छ भनेर आग्रह गर्दा दुवै सरकारले आश्वासन मात्रै दिए । मुख्यमन्त्री आफैले पनि पाँच हजार किट पठाउँछु भनेर जानु भयोे, अहिले सम्म किट आएन । पर्सा जिल्ला आर्थिक गतिविधिका हिसाबले सबैभन्दा सक्रिया जिल्ला हो । यसलाई ग्रिनजोनमा लानका लागि धेरै भन्दा धेरै परीक्षणको आवश्यक थियो । संघ र प्रदेश सरकारसँग पर्सालाई ग्रिनजोनमा लैजानको लागि टेष्ट बढाउन गुहार लगायौं ।
त्यो गुहार नसुनिएको पृष्ठभूमिमा महानगर प्रमुख विजय कुमार सरावगीले पर्सालाई ग्रीनजोन बनाउने अभियानको नेतृत्व लिनुभयो । यहिँनिर पर्सावासीमा एउटा आशाको सञ्चार प्रवाह भयो । जुन पर्सावासीका लागि निकै महत्वपूर्ण कदम हो ।
नागरिकको जीवनरक्षालाई पहिलो प्रथामिकतामा राख्ने जनताको सच्चा प्रतिनिधि भएर उहाँ अगाडि आउनुभयो । उहाँलाई पर्साको निजीक्षेत्रले उत्सापूर्ण रुपमा सघाउने फैसला गरेको छ । आज १० हजार भन्दा बढीको परीक्षण आवश्यक छ । त्यसको लागि मेसिन आवश्यक छ । मेशिन खरिदका लागि निजीक्षेत्र, स्थानीय पालिकाहरु र नागरिकले आफ्नो क्षमता अनुसार सहयोग गरेका छन् । त्यसको फलस्वरुप आज पिसिआर मेसिन खरिद गर्ने प्रक्रियासम्म पुगेको छ । महानगरको यो काम प्रशंसनीय छ ।’
पिसिआर मेसिन खरिदका लागि मेयर सरावगीको अभियानलाई कतिपयले खिसीटिउरी गरेका थिए । नागरिकको जीवनका लागि महानगर प्रमुख विजय सरवागीको अर्जुन दृष्टिका कारण पिसिआर मेसिन आउने पक्का भएको छ । खिसीटिउरी गर्नेहरु नगर प्रमुख सरावगीको आलोचना कसरी गर्ने भन्ने विषयको खोजीमा समय खर्चिनमा व्यस्त छन् ।