वीरगंज, जेठ २२ । वीरगंज महानगरपालिकाको कोरोना विपद् व्यवस्थापन कोषमा वीरगंज युवा समाजले आर्थिक सहयोग गरेको छ ।
वीरगंज महानगरपालिकाले नगरवासीहरुको द्रुतगतिमा कोरोना परिक्षण गर्न पिसिआर मेसिन, भिटिएम किट लगायत स्वास्थ्य सामग्रीहरु खरिद गर्ने उद्देश्यले शुरु गरेको अभियानमा सहयोग स्वरुप समाजले ११ हजार १ सय ११ रुपैयाँ उपलब्ध गराएको हो ।
समाजका अध्यक्ष कमल चौगाईको नेतृत्वमा गएको टोलीले वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीलाई आज उनको कार्यकक्षमै भेटेर रकम बराबरको चेक हस्तान्तरण गरेको छ ।
चेक बुझ्दै मेयर सरावगीले वीरगंज युवा समाजले गरेको सहयोगको सराहना गर्दै भने, ‘समाजले गरेको सहयोग अतुलनिय छ, युवाहरुको नेतृत्व गर्दै आएको वीरगंज युवा समाजले गरेको यस सहयोगले अरुलाई समेत प्रेरणा मिल्ने छ ।’
त्यसैगरी वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाईले कोरोना महामारीले ल्याएको विपतको समयमा आफुहरु निरन्तर खटिरहेको बताए ।
उनले महानगरपालिकाले कोरोना नियन्त्रणकालागि खेलिरहेको भूमिका प्रशंसनीय रहेको र यस अभियानमा सम्पूर्ण नगरवासीको सहयोग अपरिहार्य रहेको उनले जोड दिए ।
चेक हस्तान्तरण कार्यक्रममा समाजकी उपाध्यक्ष श्रृष्टि विष्ट, सचिव हेमन्त तामाङ्ग, कोषाध्यक्ष अस्मिता गौतम, सदस्यहरु विनोद धिमाल, मणिहर्ष शाक्य, अनुप अग्रवाल, सुशील श्रेष्ठ, नीरज श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।