वीरगंज, जेठ २३ । कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहनका लागि लगाइएको लकडाउनका कारण शैक्षिक क्षेत्र पनि प्रभावित भएको छ ।
लकडाउनका कारण विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द हुँदा शैक्षिक क्षेत्र प्रभावित बनेको हो ।
अहिलेको विषम परिस्थितीमा शैक्षिक क्षेत्रको विकास, पठनपाठन निरन्तरता, विद्यालयको भौतिक तथा आर्थिक अवस्था, नतिजा तथा शिक्षक दरबन्दी लगायतका विषवस्तुमा आज वीरगंज महानगरपालिकाका मेयर विजय सरावगी र वीरगंजमा रहेको सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुबीच छलफल भएको छ ।
वीरगंज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाको आयोजनामा महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगी र सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुबीच भावि शैक्षिक रणनितिका बारेमा छलफल भएको हो ।
सामाजिक दुरी कायम गरी स्वास्थ्य सावधानी अपनाएर विपद्को समयमा सरकारले जारी गरेको निर्देशिकाहरु, शिक्षण सिकाई लगायतका विषयमा छलफल भएको थियो ।
महानगरपालिकाका प्रमुख सरावगीको अध्यक्षतामा भएको छलफलमा वीरगंज महानगरपालिकामा भर्खरै आउनु भएका प्रमुख प्रशासकिय अधिकृत प्रदिप कुमार निरौला सहित सामुदायिक विद्यालयका प्राधानाध्यापकहरुको उपस्थिती रहेको थियो ।
वीरगंजको नगर सभागृहमा भएको छलफलमा विद्यालयहरुको वर्तमान अवस्था, भर्चुअल लर्निङ्गलाई निरन्तरता दिनका लागि गर्न सकिने पहलका साथै विद्यार्थीहरुलाई पाठ्यपुस्तक उपलब्ध गराउँदा हुने समस्याहरुको बारेमा प्रधानाध्यापकहरुले जिज्ञासा राखेका थिए । बैठकको सहजिकरण शैक्षिक महाशाखाका प्रमुख अरविन्दलाल कर्णले गर्नुभएको थियो ।