वीरगंज, जेठ २३ । आज विश्व वातावरण दिवस, संयुक्त राष्ट्र संघद्वारा घोषित यो दिवस पर्यावरणप्रति राजनैतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले मनाइन्छ ।
वातावरणको क्षेत्रमा सक्रिय रुपमा काम गर्दै आएको वातावरण जिउने आधार नामक संस्थाको आयोजना एवं भोलेन्टियर समूह वीरगंज र रोट्राक्ट क्लबको सहकार्यमा वीरगंज स्थित घण्टाघरमा सर्वसाधारणलाई बिरूवा बाँडिएको छ ।
‘म यो बिरूवा हुर्काउन प्रतिबद्ध छु’ भन्ने नाराका साथ बिरूवा बाँडिएको हो । बढ्दो औद्योगीकरणसँगै वन जंगल तथा बोटबिरूवा मास्सिने क्रम बढेको छ ।
वातावरण संरक्षणका लागि प्रत्येक व्यक्तिले एउटा बिरूवाको जिम्मा लिने हो भने वातावरण पुनः हरित हुने अभिप्रायले बिरूवा बाँडिएको संस्थाकी सचिव गरिमा पाण्डेले बताइन् ।
घण्टाघर चोकमा भेला भएका करिब ५० जना सर्वसाधारणलाइ विभिन्न प्रजातीका बिरूवा बाँडिएको हो ।
त्यस्तै घण्टाघर चोकमै अवस्थित बाबा रामजनम तिवारीको शालिक वरिपरी पनि विभिन्न बिरूवाहरु रोपिएका थिए ।
वातावरण जिउने आधार वीरगंजका उपाध्यक्ष सौरभ गोयलको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश सांसद ओमप्रकाश शर्मा, वातावरण जिउने आधारका केन्द्रिय अध्यक्ष आकाश चौहान, उपाध्यक्ष रूपक पटेल, भोलेन्टियर समूह वीरगंजका संयोजक राजन श्रीवास्तव लगायतकाले मन्तब्य व्यक्त गरेका थिए ।
कार्यक्रममा संस्थाका केन्द्रिय सचिव रवि यादव, दिपु वर्णवाल, प्रभाकर राज, मयन्क रौनियार, आयुष वर्णवाल, श्याम सर्राफ, किसन सर्राफ, पीयूष कादमिया लगायतकाको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण प्रभाकर चौरसियाले गरेका थिए ।




